Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


पार्टी एकीकरणपछि पनि नेकपाभित्र ‘जनयुद्ध’लाई हेर्ने दृष्टिकोणमा मतभिन्नता


0
Shares

अक्कल कुँवर (इमेज)

काठमाडौं, फागुन १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार २४औं ‘जनयुद्ध दिवस’ मनाएको छ ।

गत वर्ष जेठ ३ गते दुई ठूला कम्युनिस्ट पार्टीहरु एकता भएर बनेको नेकपाले पहिलोपटक जनयुद्ध दिवस मनाएको छ ।

औपचारिकरुपमा जनयुद्ध दिवस मनाएपनि पार्टीभित्र ‘जनयुद्ध’लाई हेर्ने दृष्टिकोणमा भने अझै भावनात्मकरुपले एकरुपता देखिँदैन ।

२०५१ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले देशका चार जिल्लामा एकैसाथ आक्रमण गरेर सशस्त्र द्वन्द्व सुरुआत गरेको थियो, तत्कालीन राज्य व्यवस्थाविरुद्ध ।

१० वर्षसम्म चलेको उक्त द्वन्द्वमा करिब १७ हजारले ज्यान गुमाए ।

तत्कालीन माओवादीले ‘जनयुद्ध’ सुरु गर्दा उक्त कार्यनीतिप्रति तत्कालीन नेकपा एमाले कटु आलोचक थियो ।

युद्धबाटै परिवर्तन सम्भव देखेको माओवादी र शान्तिपूर्ण राजनीतिबाट नै परिवर्तन सम्भव हुने मान्यता राख्ने एमाले स्पस्ट दुई ध्रुवमा थिए ।

समयक्रम र परिस्थितिसँगै मुलुकका यी दुई विपरीत ध्रुवका कम्युनिस्ट पार्टीबीच गत जेठ ३ गते एकता भयो ।

एकीकृत पार्टी नेकपाको अन्तरिम विधान निर्माणकाक्रममा लामो विवाद र बहसपछि ‘जनयुद्ध’ राख्ने सहमति भयो ।

अन्तरिम विधानमा जनयुद्धलाई स्वीकार गरिएपनि नेकपाभित्रको पूर्वएमाले खेमाले भने भावनात्मकरुपले त्यसलाई आत्मसात् गर्न सकेको छैन ।

तत्कालीन ‘जनयुद्ध’का कमान्डर एवं वर्तमान नेकपाका अध्यक्ष पुष्पकमल दाहालको एक टिप्पणीले पनि नेकपाभित्र जनयुद्धलाई हेर्न दृष्टिकोणमा अझै साझा धारणा बनिनसकेको पुष्टि गर्छ ।

विगतमा माओवादी केन्द्रले निकै तामझामका साथ ‘जनयुद्ध दिवस’ मनाउने गरेको थियो ।

यसपटकको जनयुद्ध दिवसमा पूर्वमाओवादी सक्रिय देखिएपनि पूर्वएमालेले भने खासै सक्रियता देखाएन ।

विगतमा माओवादी खेमाका पार्टीहरुले ‘जनयुद्ध’को नाम दिएर जनयुद्ध दिवस मनाउने गरेका थिए ।

तर, पार्टी एकतापछि बनेको नेकपाले भने यसलाई ‘जनआन्दोलन र जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जलि कार्यक्रम’ भनेर मनाएको छ ।

बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिलाई पनि ‘जनयुद्ध’लाई हेर्ने दृष्टिकोणमा एकरुपता नआएको पुष्टि गर्ने कतिपयको विश्लेषण छ ।

अध्यक्ष ओली माओवादीद्वारा सन्चालित जनयुद्धको कटु आलोचक नेताकारुपमा चिनिन्थे ।

पूर्वमाओवादीका नेताहरुले ‘जनयुद्ध’लाई गौरवपूर्ण भनिरहँदा पूर्वएमालेका नेताहरुले भने यसलाई त्यत्ति महत्व दिएका छैनन् ।

नेकपाभित्रका पूर्वएमाले खेमाका नेताहरु अझैपनि १० वर्षे सशस्त्र संघर्षलाई  खासमा जनयुद्ध थियो कि थिएन भन्ने विषयमा विवाद र बहस जारी रहेको टिप्पणी गर्छन् ।

पूर्वमाओवादी संविधान, लोकतान्त्रिक गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जनयुद्धका उपलब्धि मान्छ भने पूर्वएमाले यी विषय सशस्त्र संघर्षका घोषित लक्ष्य भएको स्वीकार गर्न तयार देखिँदैन ।

यसकारण एकीकरणपछि बनेको नेकपाभित्र अझै १० वर्षे सशस्त्र संघर्षलाई हेर्ने दृष्टिकोणमा सर्वमान्य हुन सकेको छैन ।