काठमाडौं, माघ २९ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ ।
नेपाली कांग्रेसका सांसद डिला संग्रौलाले दर्ता गराएको ‘नेपालमा सडक दुर्घटना परेर मृत्यु वा घाइते हुनेका तथ्यांक पछिल्लो पाँच वर्षमा भयावहरुपमा बढिरहेकाले दुर्घटना रोक्न कदम चाल्नुपर्ने र राष्ट्रिय सडक सुरक्षा कार्ययोजना कार्यान्वयन गरियोस्’ भन्ने जरुरी महत्वको प्रस्तावमाथि छलफल भएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रस्तावका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै दुर्घटना न्यूनीकरणका लागि ‘सडक सुरक्षा परिषद’ गठन हुनुपर्ने सांसदको सुझाव सकारात्मक भएको बताए ।
उनले नयाँ बन्ने सडकमा फुटपाथ अनिवार्य तथा मापदन्ड पालनामा कडाइ गरिएको बताए ।
मन्त्री महासेठले पूर्व–पश्चिम राजमार्गलाई चार लेनको बनाउने गरी काम सुरु भएको जानकारी दिए ।
उनले सर्वाेच्च अदालतको निर्णयका कारण पनि केही सडकको काम अघि बढाउन नसकेको भन्दै चालक अनुमतिपत्र वितरणमा नयाँ व्यवस्था गरिएको बताए ।
मन्त्री महासेठले २० वर्षपहिले बनेको यातायात व्यवस्थापन गर्न बनेको विधेयक संशोधनकाक्रममा रहेको जानकारी दिए ।
सांसद डा. संग्रौलाले प्रस्तावबारे जानकारी गराउँदै नेपालमा सडक दुर्घटनामा परी दैनिक १३ जनाको मृत्यु हुने गरेको तथ्य पेस गरिन् ।
२६ वर्षअघि बनेको सवारी–साधनसम्बन्धी ऐनबाट सवारी व्यवस्थापन भइरहेको बताउँदै उनले समयसापेक्ष कानुन बनाउन जरुरी रहेको उल्लेख गरिन् ।
प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले पछिल्लो पाँच वर्षको दुर्घटनामा मृत्यु हुनेको संख्या हेर्दा ठूला विपत्तिभन्दा कम नभएको उल्लेख गर्दै ९० प्रतिशत दुर्घटना चालकको लापरबाहीले हुने गरेको बताए ।
सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा २५ जना सांसदले भाग लिएका थिए ।









प्रतिक्रिया दिनुहोस्