Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


नेकपाका दुई अध्यक्षबीचको द्वन्द्वः विवादको ‘चुरो कुरो’ अर्कै छ(भिडियो)


0
Shares

-गृष्मा राजभण्डारी र नवीन स्थापित(ईमेज)

काठमाडौं । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको नौं महिनापनि पूरा नहुँदै पार्टीभित्रै द्वन्द्व सुरु भएको छ ।

रुपमा भेनेजुएला प्रकरणलाई लिएर सुरु भएको आन्तरिक द्वन्द्व सारमा लामो समय देखि गुम्सिएको आक्रोस सार्वजनिक भएको देखिएको छ ।

विश्लेषकहरु पार्टीभित्रको द्वन्द्व भेनेजुएला प्रकरणमामात्र सिमित नभएको टिप्पणी गर्छन ।

भेनेजुएलाको विषयमा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यपछि नेकपा भित्रको विवाद सतहमै छताछुल्ला भएको छ ।

अहिले नेकपा नेताहरु यो वा त्यो पक्षमा ध्रुवीकृत हुन थालेका छन् । शीर्ष नेताहरुबीच चलेको जुहारी विस्तारै दोस्रो र तेस्रो तहका नेता हुँदै तल्लो स्तरसम्म पुगेको छ । 

भेनेजुएला प्रकरणमा एक अर्काको खण्डन र आरोपमा उत्रिएका दुई अध्यक्षबीच सरकार र पार्टी सञ्चालनमा पनि आरोप प्रत्यारोप शुरु भएको छ ।

नेकपा अध्यक्ष दाहालले अर्का अध्यक्ष केपीओलीले नेतृत्व गरेको सरकारको आलोचनामात्र गरेका छैनन्, सरकारले संघीयता कार्यान्वयन गर्न आनाकानी गरेको जस्ता गम्भीर आरोपपनि लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुएला प्रकरणमा दाहाल चिप्लिएको अभिव्यक्ति दिएपछि आक्रोसित बन्नुभएका दाहालले सरकारको नियतमै प्रश्न उठाएका हुन् ।

यो सँगै शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सकारात्मक पहल नगरेको र मुलुकलाई समृद्धिको दिशामा लैजानुपर्ने सरकार त्यसबाट पछाडि फर्कन लागेको भन्दै दाहालले आक्रोस व्यक्त गरे ।

जानकारहरु भेनेजुएला प्रकरणको विज्ञप्ति नै एक अर्कालाई साइजमा ल्याउने खेल अन्तरगत आएको दावी गर्छन ।

यसैले ओली र दाहालबीचको टकराव भेनेजुएला प्रकरणमा मात्र सिमित नभएको विश्लेषकहरुको भनाई छ ।

विश्लेषक श्याम श्रेष्ठ भन्छन्, यो एउटा देखिएको विषय मात्र हो, खासमा प्रधानमन्त्री ओलीप्रति अध्यक्ष दाहाल आक्रोसित हुनुको कारण पार्टी एकीकरण टुंगोमा पुर्‍याउन भइरहेको ढिलाइ तथा शान्ति प्रक्रियाका बाँकी काम सक्न र संघीयता कार्यान्वयनमा भइरहेको उदासिनता हो ।

पार्टी एकीकरण हुँदा, दुई अध्यक्षको समान हैसियत हुने भनिएपनि पछिल्ला दिनमा ओलीले नै एकलौटी पार्टी सञ्चालन गरेको महसुस गर्दै दाहाल त्यसबाट पनि असन्तुष्ट ब्यक्त गर्छन ।

केही दिनअघिसम्म सरकारको वकालत गरिरहनु भएका दाहाल एकैपटक सरकारको आलोचक बन्नु अर्थपुर्ण छ ।

एकीकरण हुनुअघी प्रधानमन्त्री ओली संघीयता कार्यान्वयनको विपक्षमा रहेको तत्कालिन माओवादीको बुझाई थियो ।

तर त्यो विषयमा उदासिन रहदै प्रचण्ड एकिकरणमा गएकाले अहिले छताछुल्ल भएको बिश्लेषक श्याम श्रेष्ठको भनाई छ ।

ओली र दाहालबीचको द्वन्द्वले पार्टीभित्र ध्रुवीकरण बढ्दै गएको छ । यो विषय पार्टीको औपचारिक फोरममा छलफल नभएपछि नेताहरु सामाजिक सञ्जालमा आक्रोस पोखिरहेका छन् ।

यसले सरकारको काममामात्र असहयोग भएको छैन, एकीकरण प्रक्रिया पूरा नहुँदै पार्टी पुनः दुई चिरामा विभाजित हुने हो की भन्ने आशंका बढिरहेको छ ।

अर्कोतर्फ दुई तिहाई भन्दा बढिको शक्तिशाली सरकार मुख्य एजेण्डावाट दिग्भ्रमित हुने अवस्था बनेको छ ।