२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


तराईमा गर्मीले जनजीवन कष्टकर


0
Shares

गर्मीका कारण पूर्वी तराईका धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सालगायतका जिल्लाको जनजीवन प्रभावित भएको हो । त्यसैगरी पश्चिम तराईका रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत जिल्लाको जनजीवन पनि निकै कष्टकर भएको छ ।

गर्मीका कारण ती क्षेत्रका बजार दिउँसो सुनसान देखिने गरेका छन् । अस्पतालमा बिरामीको चाप बढेको छ ।

जनकपुर अञ्चल अस्पतालका अनुसार अस्पतालमा दैनिक आउने बिरामीमध्ये झाडापखाला र गर्मीको कारण हुने विभिन्न किसिमका रोग नै बढी देखिएको छ । गर्मीका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । साना बालबालिकालाई विद्यालय जान पनि गाह्रो हुन थालेको छ ।

अहिले पूर्वी तराईमा बिहानको तापक्रम ३२ डिग्री सेल्सियस मापन गरिएको छ भने दिउँसो यो बढेर ३९ देखि ४० डिग्रीसम्म पुग्ने गरेको छ । यस्तै पश्चिम तराईमा दिउँसोको तापक्रम ४२ डिग्रीसम्म पुग्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो मौसममा खानपिनमा विशेष ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् । बाहिर घाममा निस्किँदा अनिवार्य रुपमा छाताको प्रयोग गर्नुपर्ने र फलफुल बढी खानुका साथै हरियो सागसब्जी र अत्याधिक मात्रामा पानी पिउनुपर्ने सल्लाह चिकित्सकले दिएका छन् ।