
आगामी असार १४ गते हुने चुनावका लागि बुटवल उपमहानगरपालिकामा नेकपा एमालेसहितका केही दलले उम्मेदवार घोषणा गरिसकेका छन् । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुंगो तत्काल लगाउने बताएका छन् ।
एमालेले जिल्ला अध्यक्ष शिव सुवेदीलाई मेयर र गोमा आचार्यलाई उपमेयरको उम्मेदवार बनाएको छ ।
निर्वाचनमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच नै प्रतिस्पर्धा हुने ठानिएको छ । राप्रपा र जनमुक्ति पार्टीले समेत आफ्नो उपस्थिति बलियो रहेको दाबी गर्दै आएका छन् । कांग्रेस र जनमुक्ति पार्टीबीच बुटवलका कतिपय वडामा तालमेल समेत भइसकेको छ ।
मूख्य तीन ठूला दलहरुले आफ्नो पार्टीका उम्मेदवारले निर्वाचन जित्ने दाबी गर्दै आएका छन् ।
बुटवलमा २०४९ सालको निर्वाचनमा नेपाली कांग्रेसले र २०५४ सालको निर्वाचनमा नेकपा एमालेले जितेका थिए । अहिले पनि यिनै दुई दलबीच प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ । तर दलहरुबीच तालमेल भए माओवादी केन्द्रको मत निर्णायक बन्ने स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।
संविधानसभाका दुवै निर्वाचनमा बुटवलको क्षेत्रबाट एमाले जितेको थियो । तत्कालीन मोतिपुर र सेमलार गाविसलाई समेटेर बनेको वुटबल उपमहानगरपालिमा झन्डैै ८० हजार मतदाता छन् ।
पाँच नम्बर प्रदेशको सिमा टुक्र्याउने सरकारको निर्णय विरुद्ध निकै दिनसम्म आन्दोलन चलेको बुटवललाई अहिलेको निर्वाचनमा धेरैले निकै महत्वका साथ हेरेका छन् । ठूला दलहरुले पनि बुटवल उपमहानगरपालिकालाई आफ्ना प्रतिष्ठाको बिषय बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्