
मंगलबार राति बागलुङ–पर्वत सीमास्थल मालढुंगामा प्रहरीले नियन्त्रण प्रयास गर्दा फरार भएका बानपा–३ का १७ वर्षीय सुनिल पुन नभेटिएछि उनका परिवार र आफन्तजन आन्दोलित बनेका हुन् ।
भागेर नदी तर्नेक्रममा बीचमै बेपत्ता भएको भन्ने स्थानीय बासिन्दाको सूचनाका आधारमा पुनको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
बागलुङबाट कुश्मातर्फ जाँदै गरेको ध१ज ४१४ नम्बरको ट्याक्सीमा सवार पुनसहित अन्य दुई युवा लागुऔषधसहित फेलापरेका थिए । खानतलासीकाक्रममा ट्याक्सीभित्र लागुऔषध फेलापरेको थाहा पाउनेबित्तिकै पुन कालीगन्डकी नदीतिर भागेको प्रहरी नायव उपरीक्षक अनिलकुमार खड्काले बताए ।
ट्याक्सीमा रहेका बानपा–१ का २८ वर्षीय दीपेन्द्र कार्की र ट्याक्सीचालक मकवानपुरका २४ वर्षीय भीमसेन लामालाई भने नियन्त्रणमा लिइएको उनको भनाइ छ ।
उनीहरुको साथबाट लुकाइछिपाइ राखेको लागुऔषध डाइजेपाम तीनथान, एम्पुल र नुर्फिन तीनथान, फेनार्गन चारथान, नाइट्राजेपाम तीनथान र चारथान सुइ प्रहरीले बरामद गरेको छ । पक्राउ परेका दुबै युवामाथि अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने डरले नदी तरेर भाग्नेक्रममा बीचमै बेपत्ता भएको हुनसक्ने अनुमानमा प्रहरीले मंगलबार रातिदेखि नै पुनको खोजीकार्य सुरु गरेको थियो ।
दुई दिन बितिसक्दा पनि अवस्था पत्ता नलागेपछि पुनका परिवार र आफन्तजन आन्दोलनमा उत्रेका हुन् । उनीहरुले बिहीबार बिहान १० बजेदेखि बागलुङ सदरमुकाममा यातायात र पसल बन्द गराएका छन् ।
घटनाको सत्यतथ्य छानबिन र बेपत्ता पुनको अवस्था सार्वजनिक नगरेसम्म विरोधका कार्यक्रम जारी राख्ने पीडित पक्षका भुवन कँडेलले बताए ।
यता, प्रहरीले भने पोखरादेखि आएको सशस्त्र प्रहरीको खोताखोरले कालीगन्डकी नदीमा खोजी गरिरहेको जनाएको छ ।
‘नदी किनारलगायत सम्भावित क्षेत्रमा अस्तिदेखि नै खोजीकार्य चलिरहेको छ’–प्रनाउ खड्काले भने–‘घटनाप्रति प्रहरी संवेदनशील भएर लागेको छ ।’
परिवार र आफन्तजनले भने प्रहरीले घेरा हालेर पक्राउ गर्न खोज्दा पुन डरले नदीभित्र पसेको हुनसक्ने जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्