
बोर्ड स्थापनाको २५ वर्ष भएको अवसर पारेर बिहीबार राजधानीमा एक कार्यक्रम गरी बोर्डले रजतजयन्ती मनाएको हो ।
बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले २५ वर्षको अवधिमा १ खर्ब ६५ अर्ब रुपैयाँको पुँजी परिचालन भएको बताए । वार्षिक कारोबार २ खर्ब पुगेको पनि उनले बताए ।
पुँजी बजारको विस्तारका लागि बोर्डले चालेको नयाँ कदमपछि पुँजी बजारको अन्तर्राष्ट्रियस्तरमा दक्षिण एसियामा नेपाल पाँचौ स्थानमा पुगेको उनको भनाइ थियो ।
उनले पुँजी बजारमा रियल सेक्टर र गैरआवासीय नेपालीलाई भित्र्याउन प्रयास भइरहेको पनि बताए । नियामक निकाय भएर पनि आफ्नै भवन नभएको दुखेको पनि उनले व्यक्त गरे ।
कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुँजी बजारको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
खुला अर्थतन्त्र नीति अवलम्बन गरेको नेपाली कांग्रेस नेतृत्वको सरकारले यसलाई प्राथमिकतामा राख्ने उनले उल्लेख गरे ।
यस्तै, अर्थ मन्त्रालयका राजश्वसचिव राजन खनालले नियामक निकाय बलियो हुनुपर्ने बताए । उनले बोर्डसँग २० करोड रुपैयाँ रहेको भन्दै भवन बनाउन कसैले नरोकेको बताए ।
बोर्डले पहिलोपटक सेयर निष्कासनकर्ता कम्पनी नेपाल बैंक र विराटनगर जुट मिल्सलाई सम्मान गर्यो ।
यस्तै, प्रथमपटक सेयर निष्कासनसम्बन्धी मर्चेन्ट बैंकिङ तथा सामूहिक लगानी कोषसम्बन्धी कार्यको सुरुआत गरेको संस्था साविकको क्यापिटल मार्केटलाई पनि सम्मान गर्यो । हाल यो सनराईज क्यापिटल भएको छ ।
यस्तै, पुँजीबजार पत्रकारिता पुरस्कार नेपाल आर्थिक पत्रकार समाज (सेजन)लाई प्रदान गरिएको छ ।
यस्तै, २५ वर्ष सेवा गरेका बोर्डका कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्