
ललितपुर । ललितपुर महानगरपालिका– २४ का महिला समूहहरुका लागि आयोजित एक हप्ते उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न भएको छ ।
तालिम कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि वडा २४ का अध्यक्ष दिनेश कार्कीले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेपछि आफ्नो मन्तब्य राख्दै तालिम ब्यक्तिले लिएपछि समाजका लागि उपयोगी हुनुपर्ने बताए ।
सामाजिक विकास समितिका संयोजक समेत रहेका अध्यक्ष कार्कीले विभिन्न कार्यक्रमहरुमा सहभागिता मात्र होइन आफूले प्राप्त गरेको ज्ञानको प्रयोग तथा अभ्यास गर्दै जार्नुेमा जोड दिए ।
आवश्यकता अनुसार अन्य तालिमको आयोजना गर्न सकिने भन्दै त्यसका लागि समूहको कार्ययोजना आवश्यक रहने र तालिम पश्चातको सक्रियता मूल्यांकन गरिने पनि उनको भनाई थियो ।
समापन समारोहमा समाज कल्याण महाशाखा प्रमुख बाबुराजा महर्जन, महिला विकास कार्यक्रम संयोजक ज्ञानीशोभा महर्जन, वडा महिला सदस्य इन्द्राश्रीस राना, वडा सदस्यहरु हरिकृष्ण महर्जन, नीशा मालबुल तथा प्रशिक्षक सुरजवीर बज्राचार्य अतिथिका रुपमा उपस्थित थिए ।
वडास्तरीय महिला समूह सञ्जाल उपसंयोजक लक्ष्मी पौडेलको सभापतित्वमा भएको उक्त समारोहमा स्वागत मन्तब्य शोभा पौडेल खत्रीले दिएकी थिइन भने धन्यवाद ज्ञापन कल्पना अधिकारीले गरेकी थिइन ।
शोभा थापाले संचालन गरेको कार्यक्रममा तालिमको अनुभव सुनाउने क्रममा प्रशिक्षार्थीहरुले तालिमबाट प्राप्त ज्ञान र अभ्यासबाट आफूहरु उत्साहित भएको बताउँदै अन्य तालिमहरु पनि निरन्तर होस् भन्ने आशा ब्यक्त गरे ।
प्रशिक्षार्थीहरु अम्बिमा श्रेष्ठ, आशा कार्की, कमला माली, सरीता थापा राईले तालिमका बारे आफ्नो अनुभव सुनाएका थिए ।
महिला समूहहरुमा विभिन्न कार्यक्रम आयोजना गर्न सहज होस् भन्ने उद्देश्यले आयोजित उक्त तालिम माघ १४ गते शुरु भइ माघ २१ गते सम्पन्न भएको हो ।
२४ वडाका विभिन्न महिला समूहहरुको नेतृत्व गरिरहेका २५ जना महिलाहरुको सहभागिता रहेको उक्त तालिम पत्रकार एवं प्रशिक्षक सुरजवीर बज्राचार्यले दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्