Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


नेकपाको कार्यदल अन्योलमा, छलफल नै नभएका कारण प्रतिवेदन बनाउन सकस


0
Shares

काठमाडौं, माघ २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी एकता प्रक्रिया टुंग्याउन गठित कार्यदललाई तत्काल प्रतिवेदन बुझाउन निर्देशन दिएपछि कार्यदल अन्योलमा परेको छ ।

सचिवालयले अहिलेसम्म भएका प्रगति समेटेर प्रतिवेदन बुझाउन निर्देशन दिएको भए पनि कार्यदलले खासै काम गरेको छैन । कार्यदलभित्रकै विवादका कारण बैठकसमेत बस्न नसकेको अवस्थामा तत्काल प्रतिवेदन बुझाउन नसक्ने अवस्था देखिएको हो ।

गत पुस १३ गते बसेको स्थायी समितिको बैठकले पार्टी एकताका बाँकी काम किनारा लगाउने तथा जिम्मेवारी बाँडफाँटको कार्यविधि बनाउने जिम्मेवारीसहित ९ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदल गठन भएपछि पनि नेताहरुको कार्यव्यस्तता र जिल्ला दौडाहाको बहानामा बैठकले निरन्तरता पाउन सकेको थिएन ।

स्रोतका अनुसार प्रदेश कमिटीमा जिम्मेवारी बाँडफाँटको विषयमा कार्यदलभित्र सुरु मै विवाद देखिएको थियो । पार्टीको प्रदेश कमिटीको जिम्मेवारी मुख्यमन्त्रीलाई दिने कि नदिने भन्नेमा विवाद बढेको हो । सोही विवादकै कारण कार्यदलको बैठकसमेत बस्न नसक्दा अन्य विषयमा समेत छलफल हुन नसकेको स्रोत बताउँछ ।

कार्यदलले प्रतिवेदन बुझाएपछि त्यसमा भएको प्रगतिका आधारमा स्थायी समितिले एकता टुंगो लगाउने नेकपाले जनाएको छ । कार्यदलले नै प्रतिवेदन बुझाउन नसक्ने अवस्था आएपछि अब के गर्ने भन्ने अन्योल झन् बढेको छ ।

पुस मसान्तमा कार्यदलले प्रतिवेदन बुझाएर सोही प्रतिवेदनका आधारमा माघभित्र एकताको बाँकी सक्ने नेकपाको तयारी थियो । यही माघमा एकताको काम सकेर फागुन र चैतमा संगठन विस्तारमा जाने तयारी भए पनि एकता प्रक्रिया लम्बिदा पूर्वनिर्धारित कार्यसूचीअनुसारको काम प्रभावित भएको नेकपाले जनाएको छ ।