२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


बिद्या सुन्दर शाक्यलाई खुल्ला पत्र


0
Shares

 

-संजिव कार्की

नगर पिता शाक्य ज्यू,

पहिलो चरणको चुनावमा देशभर तपाईले प्रतिनिधित्व गरेको पार्टी नेकपा एमाले प्राय एक्लै चुनावी भिडन्तमा उत्र्यो तर यदाकदा अरु कसैको बैशाखी र साहारा लिएर चुनावी युद्दमा होमिएको एमाले, देशको प्रमुख शहर यानेकि ठुलो प्रबुद्ध र देशकै राजधानी काठमाडौं एक्लै लड्ने हिम्मत गरेंन बैशाखी खोज्यो । गत संविधानसभा चुनावमा समानुपातिक तर्फ बढी मत प्राप्त गरेको दल, कमल थापाको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीसंग हल बाधेर नारिनु राजी भयो र विजयी पनि बन्यो जसको फल तपाईको भागमा मज्जाले पर्यो त्यसकारण तपाई मार्फत एमालेलाई म यक्ष प्रश्न पनि सोध्दै छु । तपाईहरुले जोसँग हल बाध्नु भयो उसैको आडमा केहि मेलो जोत्नु पनि भयो तर हरियो घाँस आफैंले मात्र खाएर मित्र घात गर्नु भयो जुन मानव इतर प्राणीले पनि यस्तो गर्न हिच्किचाउछन् ।

जुन समग्र एमालेको अक्षम्य भुल र मित्रघातको निक्रिस्ट नमुना हो । अछुत कमल थापा संग जसरी चुनावी मोर्चा कस्नु भयो र आफ्नो भागमा मात्र भाग पस्कनु भयो यो निशन्देह , विल्कुल खराब आचरण र गलत प्रथा र घात हो । मित्रलाई माया गरेर काखमा राखेर छुरा रोप्ने खुरापाती कर्म हो । जो एक असल राजनैतिक पार्टी नेता र कार्यकर्ताको लागि शोभायमान होइन जुन कुरा भुलेर पनि गर्न मानवलाई सुहाउन्न । एक सशक्त राजनैतिक शक्ति र नेतालाई झन् सुहाउने कुरा भएन । जे भयो अब त्यो घटिया ब्यबहार र निकम्माचरित्र नदोहोर्‍याउन नगरपिता तपाई मार्फत एमालेसँग मेरो विशेष अनुरोध छ ।

बकेर्नो गाईको दुध र पवित्रताले चोखिन रहर गर्ने , चोखिने पनि तर गाईलाई हरियो घाँस नहाल्ने , चोरेर गाईको दुधको तर मात्र मार्ने यो प्रवृति अत्यन्त घातक र बिनाशक छ । गाईको दुध उसको बाच्छोलाई मारेर पनि खाने तर घाँस नहाल्ने जुन प्रपन्च छ त्यो धार्मिक दृष्टिले पनि पाप र मानवीय दृष्टिकोणले पनि जघन्य अपराध हो । नैतिकहीनाता हो । सामाजिक आचार र ब्यबहारमा असंगत हो । कम्युनिस्ट नाम धारण गरेको कारणले यहाहरुलाई पाप र धर्ममा त विश्वास नहोला तथापी सामाजिक आचरण र ब्यबहारमा पनि छलछाम धोका घडिलाई राम्रो मानिन्न, हुन्न । अब भने यस्तो अवसरबादी चरित्रलाई सुधार गरि शुद्ध राजनैतिक चरित्र प्रदर्शन गर्नुस् । धोका, घात, प्रतिघात र अन्तरघातले क्षणिक उत्तेजना र सन्तुस्टी त मिल्न सक्ला तर वस्तुतः यसको असर हरेक कालखण्डमा हँसिया निले झैँ बन्नेछ । दुखान्त हुनेछ । हँसिया निल्ने दुस्प्रयास नगरोस कसैले पनि ।

विद्यया सुन्दर शाक्य ज्यू ,

तपाईले जे सिकाउनु हुन्छ जे गर्नु हुन्छ त्यसको एक्लो भागिदार तपाई र काठमाडौं महानगरबासी मात्र हैन सिंगो देश हुनेछ । तपाईका हरेक निर्णय र पाइलाहरुमा देशको भविष्य र भाग्य प्रतिबिम्बित हुन्छ । काठमाडौं मात्र काठमाडौं , होइन यो नेपाल हो । सिंगो देशको प्रतिनिधि पात्र यहाँ छन । सडकपेटी देखि झुपडी आलिसान भब्य बंगला र महल अनि दरबारसम्म देश छ । मदेस छ । तराई छ । हिमाल छ । पहाड छ र छ सबै भन्दा ठुलो देश नेपाल छ । काठमाडौँ सेलिब्रेटीहरुको पनि सेलिब्रेटी सहर हो । काठमाडौं आफैमा सेलिब्रेटी हो यहाँका स्थाई बासिन्दा स्वयं आफैंमा सेलिब्रेटी हुन् र सम्झनछन, सेलिब्रेटी हुनुको धक्कु दिन्छन । अस्थाई बासिन्दा समेत आफुलाई सेलिब्रेटीको दर्जामा राख्छन यति मात्र हैन गाउँबाट पहिलोपटक पाइला राख्ने समेतले आफुलाई सेलेब्रेटी सहरको सेलिब्रेटी भएको मिठो भ्रम र सपना बुन्छन । किनकी युरोप अमेरिका जस्तै धेरैको सपनाको सहर र संसार हो काठमाडौं । काठमाडौंमा घर हुनेहरुको सान बेग्लै छ । घर नहुनेहरूको पनि शान छ हुँदा हुँदा काठमाडौं टेक्नेहरुको पनि सान छ । काठमाडौं शानहरुको सहर हो । मानहरुको सहर हो अनि अभिमानहरुको पनि सहर हो ।

विद्यया सुन्दर शाक्य ज्यू,

काठमाडौंलाई अभिमान छोडेर मान र शानहरुको सहर बनाउन अब पाँच बर्ष सम्म तपाइले अथक मेहनत र प्रयत्न गर्नुपर्छ । काठमाडौंलाई सुविचार र सुयत्नहरुको सहर बनाउनु पर्छ । तपाई अब एमाले पार्टीको नेता र कार्यकर्ता भएर होइन जनप्रतिनिधि भएर काम गर्नुपर्छ । राजनीतिक विचार, दर्शन ,सिद्दान्त ,आस्था र विश्वास आफ्नो ठाउमा छ । आफू संग्लन बाद र विचारको फ्लेवर काम गर्दा आउछ नै तर विचार, बाद सिद्धान्त र पार्टीको नाममा विवेक बन्धक राखेर काम गर्नु हुन्न । विवेक बन्धक राखेर काम गरियो भने मान्छे हुनुको सार्थकता सकिनेछ । बिद्या सुन्दर ज्यु, तपाईको नाम पनि आसाध्यै सुन्दर र आकर्षक छ थरमा पनि शाक्यमुनी बुद्धको अंश जोडिएको छ यति राम्रो आकर्षक नामलाई कामको माध्यमबाट अझ चहक बनाउनुहोस । बिद्या, बुद्धि विवेक र कर्मले सुन्दर नाम बनाउनुहोस । मान्छेहरुले भनुन भोलिको पुस्ताले भन्न सकोस बिध्या सुन्दरको नाम नै काफि छ ।

तपाई आफूले गरेको पहिलो निर्णर्य जनप्रतिनिधिलाई मोबाइल खरिद गर्न रकम दिने बिबादास्पद र तीव्रआलोचनाको शिकार भएपछि जसरी ब्याक हुने निर्णय गरेर आफ्नो कर्मलाई सच्याउनु भयो त्यसले तपाईको उचाई घटाउन सक्दैन बरु कालान्तरसम्म सच्चिने र सतर्क बनाउने पाठ सिकाईरहन्छ । जनचासो र जनगुनासो सुन्नु हरेक जननिर्वाचित प्रतिनिधिको कर्तब्य दायित्व र धर्म हो । जनताको आवाज सुन्न र सच्चिन सक्ने नेताको छवी निर्माणमा बल पुग्ने छ र अरुहरुलाई पनि केहि स्वार्थी, लोभी, पापी निर्णय गर्नु भन्दा अघि ठण्डा दिमागले सोच्न बाध्य बनाउने छ । बाबुले दुःख गरेर स्कूल फिस तिर्न दिएको पैसा मिठो लाग्छ चकलेट मिठो हुन्छ भनेर चकलेट किन्न खर्च गर्न त भए न नि हैन र ? यहाँको स्मार्ट सिटी बनाउने सपना स्मार्ट फोन बाडेर सुरु भनेर जसरी सामाजिक संजालमा पब्लिकले बिरोध गरे एमाले पार्टीका केहि नेताले समेत छुद्र टिप्पणी गरे त्यो हाम्रो सामाजिक गुण हो । सामाजिक र राजनैतिक बाध्यता हो

त्यसबाट गलत बुझाई होइन सकारात्मक सोचाई बनाउनु भयो जुन नितान्त स्वागत योग्य र अनुसरण गर्न लायक काम भयो । पहिलो गाँसमा ढुंगा पर्‍यो भने पछिल्लो पटक गाँस हाल्नु भन्दा अघि ढुंगा केलाउने बानी बस्छ भनि यो घटनालाई सकारात्मक रुपमा बुझ्नु पर्छ । आगोको छेउमा बसेपछि आगोले पोल्न पनि सक्छ । अगेनोमा बसेपछि धुँवा र तातो खप्ने पोलेको डाह सहने बानी हुनपर्छ । जनप्रतिनिधिलाई मोवाइल दिने जुन उदेश्य थियो त्यस नियतमा खोट थिएन होइन तर पनि राजनीतिकर्मी र तिनले लिने सेवासुविधा प्रति जनताको विकर्षण र रोष भने प्रकट भयो । यसो किन भयो त ? यसको उत्तर खोज्न गहिराइमा पुग्नै पर्दैन सतहमा र सबैको मुखमा छ राजनीतिकर्मी भ्रष्ट छन । भ्रष्ट मनोविज्ञानबाट ग्रसित छन । राजनीति गर्नु भनेको भ्रष्ट हुनु हो । राजनीतिकर्मीको आँखा धन सम्पतिमा मात्र छ देश लुट्न राजनीतिमा एकता छ देश बनाउन हैन । बिद्या सुन्दर शाक्य ज्यु जनताको यो बुझाइलाई फेर्ने तपाँइको दृष्टिकोण, भिजन र प्लान प्रस्तुत गर्नुस् , इमान्दार र नैतिकवान प्रयत्न गर्नुस् । तपाँइको पहिलो र गहन चुनौती भनेकै जनताको यो भ्रम चिर्ने हुनुपर्छ । राजनीतिकर्मी भ्रष्ट भए, राजनीतिकर्मीको भर छैन भन्ने जुन धारणा पब्लिकमा छ त्यसलाई तोड्ने पहिलो योजना तर्जुमा गर्नुहोस कार्यान्वयनलाई अर्जुन दृष्टी बनाउनुहोस ।

जनता देखावटी र बनावटी कुरा हैन साधारण ब्यबहारमा परिवर्तन देख्न चाहन्छन । जनताको पहिलो अपेक्षा भनेको राजनीतिको शुद्दता र जनप्रतिनिधिको पवित्रता र सेवाभाव हो । जनता यो धुलोमैलो , बाधाव्यब्धान अझै खप्न सक्छन र खप्ने बानी पनि छ । लर्तरो दुःख पीडा र दर्दले नेपाली आतिने जात होइन पनि । तर जन जनमा जरा गढेको राजनीतिक पार्टी र तिनका नेता कार्यकर्ताप्रतिको अविश्वास, संशय र वितृष्णा उप्काउन जति सक्दो पहल गर्नुपर्छ । राजनीतिक नेता र कार्यकर्ताको निधारमा लागेको कलंकको धब्बा पुछ्न मेहनत गर्नुपर्छ । बेइमान, बेइजती, बेसरम र बिचौलियाको कालो रङ्ग निखार्नुपर्छ । राजनीति राज्य संयन्त्रमा जनताको सरल र सहज पहुच छेक्ने बिचौलिया ब्यापारी नाफाखोर र कमिसनको जालोमा जेलियो । राजनीति भनेको बिचौलिया ब्यापारी जस्तो भयो । जनताको सिधा पहुँचलाई छेक्ने, रोक्ने र सहयोग गरिदिएको नाममा कमाउने माध्यम बन्यो । सेवाभाव कमाउने व्यापार भयो । राजनीतिमा शासन गर्ने शासक मानसिकता हावी देखियो । राजनीति गर्ने मान्छे सेवक नभएर मालिक र शासक प्रसासक भए । मालिक सरकार र जनप्रतिनिधि हैन सेवक सरकार र जनप्रतिनिधि यो युगको माग हो । नेताहरुको नेता शहर काठमाडौंले नायकत्व देखाउने बेला हो यो । जसको काठमाडौं महानगरपालिकाका नगर पिता र उनको टिममा निर्वाचित जनप्रतिनिधिहरुले उद्दात्त छाती लिएर शुरुवात गर्नुपर्छ ।

काठमाडौँमा देशभरका मान्छे बस्छन रहरले, बाध्यताले, संभावनाले र आवश्यकताले । काठमाडौंबासीको इच्छा, आवश्यकता रहर र खाँचोको सम्बोधन सजिलो छैन जति अरु प्रदेशको अरु शहरको सजिलो छ । काठमाडौं बिबिधता भित्र अनन्त बिबिधता रहर चाहना र भावना बोक्ने र प्रतिनिधित्व गर्ने सहर हो । अनन्त रहर, सौख र संभावनालाई काँध हाल्ने शहर हो काठमाडौं । असिमित रहर, इच्छा र खुवाबलाई सिमित स्रोत, साधन र क्षमताले सामधान गर्न सजिलो छैन तर पनि महत्वको आधारमा प्राथमिकिकरण गरि सम्बोधन गरियो भने असम्भव र आश्चर्यजनक कुरा केहि छैन । म तपाँई र तपाई टिम प्रति भरोसापूर्ण नजर राखेर नै यो पत्र कोर्ने जर्मको गरें । सानो मुखले ठुलो बोलेको भए माफी माग्दछु । काठमाडौं नगरबासी हुनुको नाताले म प्रति पनि तपाईंका दायित्व र भूमिकाहरू छन त्यसैले मेरा भावना र शब्दहरु व्यक्ति मेरा मात्र होइनन सम्पूर्ण नगरबासीका भावना रहर चाहना र खबरदारी हुन् । अध्यन, चिन्तन र मनन गर्नुहोस । धन्यवाद, जय नेपाल ।