तर, अहिले विराटनगरको परिचय फेरिएको छ । विराटनगर अहिले फोहोर, अव्यवस्थित तथा कुरुप बन्दै गएको छ ।
मुख्य सडकका बीच भागमा ठूला–ठूला खाल्डा छन् । दुईपांग्रेमात्र होइन, चारपांग्रे सवारी–साधनसमेत बीच सडकमै पल्टिने डर छ, विराटनगरका सडकहरुमा ।
सडकका बीचमा रहेका खाल्डोमा परेर दिनहुँजसो दुर्घटना हुने गरेको स्थानीय बताउँछन् । विराटनगरसँग अहिले देखाउन मिल्ने एउटैमात्र चिज छ । त्यो हो, भारतको जोगबनीलाई चिनियाँ सीमा किमाथांकासँग जोड्ने ६ लेनको सडक । तर, त्यो पनि निर्माणको क्रममा छ ।
पुराना सडक खाल्टाखुल्टीले हिँड्नै नसकिने भएका छन् । पुराना सडक विस्तारको काम भइरहेको छ । तर, सुस्त गतिमा । सडक निर्माण समयमै सम्पन्न हुन नसक्दा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ ।
पानी परेको दिन सडक हिलाम्मे हुन्छ भने घाम लागेको दिन धुलो उडेर हिँड्नै नसकिने हुन्छ । सडकको यस्तो अवस्थाले स्थानीय वासिन्दामा रोगको संक्रमण बढ्दै गएको छ ।
सम्बन्धित निकायको बेवास्ताले समयमै सडक निर्माणकार्य पूरा नहुँदा सहरको स्वरुप कुरुपमात्र भएको छैन, स्थानीय वासिन्दालाई सास्तीसमेत भएको छ ।
सडक विस्तारकाक्रममा भनसुनका आधारमा पक्षपात भएको स्थानीयको गुनासो छ ।
सडकमात्र होइन, विराटनगरमा ढल निकासको पनि उचित व्यवस्था छैन । खुलै छाडिएका ढलमाथि फोहोर थुप्रिएको छ । खुला ढलनजिकै खाद्यान्न पसल तथा चमेना गृहहरु सन्चालित छन् । यसले जनस्वास्थ्यमाथि खेलबाड भइरहेको देखाउँछ ।
सडक र ढल व्यवस्थित गर्न पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सडक विभागले बेवास्ता गरेको गुनासो स्थानीयको छ ।
अव्यवस्थित बसोबास, ढल, खानेपानी र सडकको अवस्थाले लाग्छ विराटनगर ओइलाउँदै गएको सहर हो ।
विराटनगरको पुरानो साख फर्काउन यथेस्ट सम्भावना नभएका होइनन् तर ती सम्भावनालाई जीवित तुल्याउनसक्ने नेतृत्वको अभाव देखिएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।










प्रतिक्रिया दिनुहोस्