Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


भरतपुर–१९ को च्यातिएका मतपत्र काठमाडौं ल्याइयो, सर्वोच्चमा पेश गरिने


0
Shares

मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनले शिलबन्दी गरेर च्यातिएको मतपत्र काठमाडौं पठाएको हो ।

बुद्ध एयरको फ्लाईट नम्बर ३६० बाट बिहान सबा ८ बजे च्यातिएको मतपत्र काठमाडौं ल्याइएको हो ।

च्यातिएको मतपत्रसँगै प्रमुख निर्वाचन अधिकृत कविराज न्यौपाने, सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरे र प्रहरी सहायक निरीक्षक गोविन्द श्रेष्ठ काठमाडौं आएका छन् ।

यस्तै मतपत्र मतगणना स्थगित गरेको मुचुल्का, मतगणना स्थगनको सूचना, निर्वाचन आयोगलाई बुझाइएको प्रतिवेदन, च्यातिएको मतपत्र गणना गरेको मुचुल्का र च्यातिएका मतपत्र गणना गरेपछि पठाइएको प्रतिवेदन पनि सँगै पठाइएको छ । मंगलबार बिहान ७ बजे दलहरुका प्रतिनिधिको रोहबरमा मतगणनास्थल कवर्ड हल खोलेर च्यातिएको मतपत्र निकाली पुनः कवर्ड हल सिल गरिएको छ ।

सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले भरतपुरमा च्यातिएको मतपत्र झिकाउन आदेश दिएको थियो ।

भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना जारी रहेको बेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि यो विवाद सर्वाेच्चमा पुगेको हो ।