Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


पहिरोले घर बगाउँदा दुईको मृत्यु, दुईजना बेपत्ता


0
Shares

मृत्यु हुनेमा स्थानीय ३५ वर्षीया शान्ति थामी र ७० वर्षीया लाटी थामी रहेका छन् । नजिकैको क्याङथली खोलाबाट दुबैजनाको शव निकालिएको छ ।

पहिरोमा पुरिएर अन्य दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मृतक शान्ति थामीका छोरी १५ वर्षीया रोशनी थामी र १२ वर्षीय रितु थामी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब निरीक्षक रामेश्वर कार्कीले बताए ।

स्थानीयको सहयोगमा नेपाल प्रहरी र दोलखास्थित नेपाली सेनाको रणभीम गणले बेपत्ता दुबैजनाको खोजीकार्य गरिरहेको जिप्रका दोलखाले जनाएको छ ।

घरमा सँगै सुतिरहेका शान्ति थामीका श्रीमान् मङ्गले थामीको पेट दुखेर राति करिब साढे १ बजेतिर घरनजिकै रहेको चर्पीमा जाँदा उनी पहिरोबाट बाच्न सफल भएको बताइएको छ ।

उनले रुँदै भने–‘चर्पीबाट फर्कंदा घरसहित परिवार नै पहिरोले बगाइसकेको रहेछ ।’

दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरासहितको टोलीले घटनास्थलको स्थलगत अनुगमन र निरीक्षण गरी मृतकका परिवारलाई राहतसमेत उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट घटनास्थलमा पुगेका चिकित्सकसहितको टोलीले शव परीक्षण गरी बुधबारै परिवारका आफन्त र छिमेकीको जिम्मा लगाइ दाहसंस्कार गर्न भनिएको प्रहरी नायब निरीक्षक कार्कीले बताए ।

कुतकुतेलगायत गोगने, आहालडाँडा, डाडाँगाउँ र लामाकोलका ९५ घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् ।

पहिरोको उच्च जोखिमबारे सरकारी संयन्त्रलाई थाहा हुँदा–हुँदै पनि सुरक्षित बस्तीका लागि पहल नगरिएको गुनासो स्थानीयको छ । रासस