२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


जगदीशपुर तालमा ‘चरा महोत्सव’


0
Shares

बासुदेव वर्मा (इमेज)

कपिलवस्तु, माघ १९ । २३औं विश्व सिमसार दिवसका अवसरमा चराहरुको राजधानी मानिने कपिलवस्तुको जगदीशपुर तालमा शनिबार ‘छैटौं चरा महोत्सव’ आयोजना गरिएको छ ।

जगदीशपुर क्षेत्रलाई चरा पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन महोत्सव आयोजना गरिएको जनाइएको छ ।

सो ताल विश्व सिमसार क्षेत्रमा सूचीकृत रहेको छ ।

महोत्सवमा एक हजारजना बढीले चरा अवलोकन गरेका छन् ।

विद्यार्थीदेखि विदेशी पर्यटकको ध्यान चराले तानेको थियो ।

चरा हेर्न आएकालाई दुईओटा ठूला ट्राइपोटमा बाइनाकुलर जडान गरेर नेचर गाइडले चरा देखाएका थिए ।

उनीहरुले तालमा देखिने आगन्तुक चराको नाम, आएको मुलुक र ठाउँ जानकारी दिँदै चरा अवलोकन गराएका थिए ।

महोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर–५ का भौतिक पूर्वाधार तथा योजनामन्त्री वैजनाथ चौधरीले संरक्षण रणनीति बनाएर सिमसारको दीगो व्यवस्थापन गर्नुुपर्नेमा जोड दिए ।

महोत्सवकै अवसरमा जगदीशपुर ताल वरिपरिको ५ किमिमा म्याराथन दौड गरिएको थियो ।

यस्तै, थारु कला, संस्कृति र अवधी संस्कृतिको गडासी नाच पनि प्रदर्शन गरिएको अभियन्ता मनीषदेव मिश्रले जनाए ।

सो अवसरमा चराको महत्व बुझाउने निबन्ध प्रतियोगितासमेत गरिएको थियो ।

चराको स्वर्ग मानिने ठाउँलाई चिनाउन चरा महोत्सव गरेको आयोजक जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मन्चका अध्यक्ष ललित गुरुङले बताए ।