प्रदीप पौडेल (इमेज)
पोखरा, माघ १९ । कास्कीको पोखरा महानगपालिकाको मासबारमा शनिबार नेपाल विद्यार्थी संघले सरकारी गाडी नियन्त्रणमा लिएर आगो लगाएको छ ।
पोखरा महानगरको शिक्षा महाशाखा प्रमुखले चढ्दै आएको सरकारी गाडी महनगरका महाशाखा प्रमुख हेमप्रसाद आचार्यलाई लिन गएका बेला पोखरा–७, मासबारस्थित श्रीकृष्ण माविअगाडि बा१झ ५८७९ नम्बरको पिकअप भ्यान जलाइएको हो ।
नयाँबजारस्थित नवप्रभात माविमा सन्चालित स्वास्थ्यका कर्मचारीहरुको विभिन्न पाँचओटा विज्ञापनका परीक्षार्थीको लिखित परीक्षाको केन्द्राध्यक्ष आचार्यलाई लिन गाडी गएको थियो ।
चालक इच्छा गायकलाई गाडीबाट ओरालेर पेट्रोल छर्केर आगो लगाइएको जनाइएको छ ।
केन्द्रको पूर्वघोषित कार्यक्रमअनुसार बिदाको दिन चल्ने सरकारी सवारी–साधन नियन्त्रणमा लिएर जिल्ला प्रशासनलाई बुझाउने कार्यक्रम भएपनि कार्यकर्ताले आक्रोशमा आगजनी गरेको नेविसंघ केन्द्रीय सदस्य भानु ढकालले बताए ।
सरकारी गाडीमा आगजनी गरेको भन्दै नेविसंघका पाँचजना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा नेविसंघ पोखरा विश्वविद्यालयका पूर्वसभापति राजेन्द्र बराल, परशुराम बस्नेत, लक्ष्मीप्रसाद पौडेललगायत रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्