
बीबीसीकाअनुसार चीनले भारतीय सेनालाई सन् १९६२ को युद्धमा मिलेको हार स्मरण गर्दै इतिहासबाट केही सिक्नुपर्ने भन्दै चिनियाँ सेनालाई नजिस्क्याउन चेतावनी दिएको हो ।
चीनले भारतलाई सिक्किम सेक्टरको डोङलोङ क्षेत्रबाट तत्काल भारतीय सेना फिर्ता बोलाउनसमेत आग्रह गरेको छ ।
भारतले भुटानलाई ‘ढाल’ बनाएर चीन, भारत र भुटानबीचको त्रिकोणात्मक सीमा क्षेत्रमा सडक निर्माण गरिरहेको र त्यस क्षेत्र भुटान र भारत दुबैको भूमि नरहेको चीनको दाबी छ ।
भारतीय सेनाले विवादित क्षेत्रबाट बंकर हटाउन नटेरेपछि बिहीबार चिनियाँ सेनाले भारतीय पक्षबाट बनाइएका बंकर सैनिक बल प्रयोग गरेर भत्काइदिएको थियो ।
डोजरसहित आएका चिनियाँ सेनालाई रोक्न भारतीय सेनाले मानवसाङ्लो बनाएका थिए । तर, चिनियाँ सेनाले ठेलेर भारतीय सेनालाई हटाएपछि डोजर चलाएर बंकर भत्काइदिएको हो ।
विगत एक महिनाको अवधिमा त्यस क्षेत्रमा चिनियाँ सेनाले चारओटा बंकर भत्काइसकेको छ ।
गत मंगलबार चीन सरकारले कैलाश मानसरोवर यात्रामा जाने भारतीय तीर्थयात्रीका लागि खोलिएको ‘नाथुला’ प्रवेशद्वारसमेत बन्द गरिसकेको छ ।
चीनले भारतीय पक्षले सिक्किम क्षेत्रको चिनियाँ भू–भागमा अनधिकृतरुपमा सीमा अतिक्रमण गरेको भन्दै नयाँदिल्ली तथा बेइजिङस्थित भारतीय दूतावासका अधिकारीमार्फत् कूटनीतिक विरोधसमेत जनाइसकेको छ ।
भारत र चीनबीच लामो समयदेखि करिब ४ हजार किलोमिटर सीमा क्षेत्रमा झन्डै आधा हिस्सामा विवाद चर्कंदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्