२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


हुलाक सेवा निष्प्रभावी, कर्मचारी कामविहीन, आधुनिकीकरण भएन (भिडियो)


0
Shares

खगेश्वरी कार्की र लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, माघ १९ । कुनै समय नेपालको एकमात्र सन्चारमाध्यमकारुपमा रहँदै आएको हुलाक सेवा पछिल्लो समयमा निष्प्रभावी भएको छ ।

मोबाइल फोन, इन्टरनेटलगायतका आधुनिक प्रविधिले हुलाकका काम विस्थापित गरेपछि हुलाक सेवामा काम गर्ने कर्मचारी पनि कामविहीन बनेका छन् ।

वि.सं. १९३५ सालमा हुलाक घरको स्थापना भइ सुरु भएको हुलाक सेवा सरकारी कामकाजलाई सहज बनाउनका लागि हुलाक ऐन २०१९ अन्तर्गत् देशभर नै स्थापना गरिएको थियो ।

व्यक्तिगत तथा पारिवारिक सूचना आदान–प्रदान गर्न कुनैबेला प्रमुख साधन बनेकोे हुलाक सेवा पछिल्लो समय निष्प्रभावी बनेको छ । प्रविधिको बढ्दो प्रयोगका कारण हुलाकप्रति मानिसको अरुचि बढेको हो ।

मोबाइल फोन, इमेल, फेसबुक, भाइबरलगायतका सामाजिक सञ्जालको उदयले हुलाक सेवा विस्थापित नै भएको छ ।

देशभरका तीन हजारभन्दा बढी हुलाक कार्यालयहरुमा झन्डै १७ हजार कर्मचारी कार्यरत् छन् । तर, अधिकांश कर्मचारी कामविहीन छन् । अधिकांश मानिसले हुलाकबाट पाउने सेवा लिन छाडेका छन् ।

हुलाक अहिले सरकारी कागजात ओसारपसारमामात्र सीमित भएको हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवालीले बताए ।

हुलाक सेवालाई आधुनिकीकरण र प्रभावकारी बनाउनुपर्ने आवाज बेलाबेलामा उठ्ने गरेको छ । तर, सरकारले यसमा पहल गरेको छैन ।

कामविहीन भएका कर्मचारीलाई प्राविधिक सीप सिकाएर सेवालाई आधुनिकीकरण गर्नसके हुलाकको सेवा अझ प्रभावकारी बनाउनसकिने महानिर्देशक ज्ञवाली बताउँछन् ।

कतिपय जिल्लामा हुलाक कार्यालयले टेलिसेन्टर, बचत बैंक, धनादेश, इएमएस, विप्रेषणलगायत सेवा प्रदान गर्दै आएको छ ।

तर, हुलाकले दिएको सेवाबारे धेरैलाई जानकारी नहुँदा पनि यसप्रति मानिसको रुचि बढ्न नसकेको हो ।

भिडियो हेर्नुहोस्