Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


स्ववियु निर्वाचनको ‘मिति चाँडै’


0
Shares

काठमाडौं, माघ १९ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने तयारी थालेको छ ।

त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले स्ववियु निर्वाचनको मिति अझै नतोकिएकाले चाँडै तोक्नेबारे छलफल भइरहेको जानकारी गराए ।

केही सन्चारमाध्यमले स्ववियु निर्वाचन मिति फागुन १४ गते भनेर प्रकाशित गरेकोप्रति आपत्ति जनाउँदै निर्वाचनको मिति अझै नतोकिएको उनले बताए ।

‘हामीले साधारणतया फागुन १४ गते निर्वाचन गर्ने तयारी गरेका हौं’–उनले भने–‘तर, अहिलेसम्म स्ववियु निर्वाचनको मिति तोकिएको छैन । चाँडै नै त्रिवि कार्यकारी परिषदको बैठकले निर्वाचनको मिति तोक्नेछ ।’

प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता सबै क्याम्पसमा हुनसकेको छैन ।

विद्यार्थी संगठनबीच निर्वाचन प्रणाली र उमेर हदबन्दीको विषयमा सहमति हुन नसक्दा निर्वाचन हुन नसकेको हो ।

वि.सं. २०७३ मा २८ वर्षे उमेर हदबन्दी र समानुपातिक निर्वाचन प्रणाली अपनाइएको स्ववियु निर्वाचनमा अधिकांश क्याम्पसमा विद्यार्थी संगठनका कारणले हुन सकेको छैन ।

त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले फागुन महिनाभित्र स्ववियु निर्वाचन गर्नेगरी कार्यतालिका सार्वजनिक गरिने बताए ।

यसअघि, उनले नै पुस २२ गते देशभरिका त्रिविका सम्बन्धनप्राप्त सबै क्याम्पसका क्याम्पस प्रमुखलाई स्ववियु निर्वाचनको तयारी थाल्न निर्देशन दिएका थिए ।

वि.सं. २०७३ फागुन १८ गते भएको स्ववियु कार्यसमितिको कार्यकाल दुई वर्ष सकिन थालेकाले निर्वाचनको तयारी थाल्न निर्देशन दिइएको कार्यकारी निर्देशक थापाले बताए ।

उनले अघिल्लोपटक विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसमासमेत यस वर्ष विद्यार्थी संघ–संगठनको सहमतिमा निर्वाचन गरिने बताए ।

उनकाअनुसार गत निर्वाचनमा ६० मध्ये २६ आंगिक क्याम्पस र ८० ओटा सामुदायिक क्याम्पसमा निर्वाचन भएको थियो । त्रिविका ६० आंगिकसहित एक हजार ८३ क्याम्पस रहेका छन् ।

त्रिविले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीमा निर्वाचन गर्दै आएको छ ।

अनेरास्ववियुका महासचिव ऐन महरले स्ववियु निर्वाचनको मिति तोक्नेबारेमा त्रिविसँग विद्यार्थी संगठनको छलफल भइरहेको बताए । रासस