काठमाडौं, माघ १८ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सही बाटो र नीति लिएको उल्लेख गर्दै पार्टी एकताको प्रक्रियाले चाँडै अन्तिमरुप लिने बताएका छन् ।
नेकपाका सांसदहरुसँग शुक्रबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीको नीति र विधिभित्र रहेर आफ्ना कुरा राख्न सुझाव दिए ।
‘पार्टीको एकता प्रक्रिया टुंगोमा नपुग्दा केही अन्योल भएको छ । तर, अब चाँडै यो प्रक्रियाले अन्तिमरुप लिन्छ’–प्रधानमन्त्री ओलीले भने–‘त्यसपछि पार्टीका नीति–निर्देशन स्थानीय तहमा पुग्छन् । त्यसपछि स्थानीय तहहरुलाई निर्देशित गर्न पनि सजिलो हुन्छ ।’
तत्कालीन नेकपा एमालेले र नेकपा माओवादी केन्द्रबीच गत जेठ ३ गते एकता भएपनि तल्ला तहको एकीकरणका लागि कार्यदलले काम गरिरहेको छ ।
प्रधानमन्त्री ओलीले समय मिलाएर संसदीय दलको बैठक नियमित राखिने तथा सांसदहरुलाई विभिन्न विषयमा प्रशिक्षित गरिने जानकारी दिए ।
उनले मन्त्रीहरुलाई सांसदहरुसँग घनिष्ट सम्बन्ध राख्न आग्रह गरेका छन् ।
‘कतिपय अवस्थामा मन्त्रीहरु सीधै जनतासँग जोडिन सकेका हुँदैनन् । त्यसका लागि सांसदहरुमार्फत् मन्त्रीहरुले जनताका कुरा सुन्ने र आफ्ना कुरा जनतामा पठाउने हो’–प्रधानमन्त्री ओलीले भने । रासस









प्रतिक्रिया दिनुहोस्