
काठमाडौं, माघ १८ । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले शुक्रबार राजीनामा दिएकी छन् ।
आफूमाथि लागेका आरोपहरु झुटो भएको दाबी गर्दै नैतिकताका आधारमा राजीनामा दिएको शेर्पाले जिकिर गरेकी छन् ।
मानव तस्करीको गम्भीर आरोप लागेपछि सरकारले राजदूत शेर्पालाई राजीनामा दिन सुझाएको थियो ।
आफ्नै गाडीचालक वाङ्छु शेर्पाले मानव बेचबिखनको आरोप लगाएपछि राजदूत शेर्पा विवादमा परेकी थिइन् । त्यसपछि सरकारले उनलाई काठमाडौं बोलाएर स्पष्टीकरण सोधेको थियो ।
शेर्पाले शुक्रबार विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको आरोपको खन्डन गरेकी छन् ।
‘घटनाको वास्तविकता र यथार्थलाई थाती राखेर एकाध मिडियाको पछाडि लागेर आफ्नो देशको डिप्लोम्याट जो रातदिन देश र जनताको हितार्थ समर्पित छ, त्यस्ता व्यक्तिहरुलाई मानमर्दन गर्ने परम्पराको थालनी हुनु दुःखद् छ’–विज्ञप्तिमा उल्लेख छ ।
शरणार्थी माध्यमबाट पीआर पाउने कुचेष्टाले शेर्पालाई प्रयोग गरिएको उनको दाबी छ ।
शेर्पालाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले दुई वर्षअघि अष्ट्रेलियाका लागि राजदूत बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्