Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


नेपाली ग्यास बुलेट अवरोध नगर्न महराले गरेको आग्रह यसरी टारिन् भारतीय विदेशमन्त्रीले


0
Shares

नेपाली नम्बर प्लेटका ग्यास बुलेटबाट ढुवानी गर्न अनुमति मागे पनि भारतले अनुमति नदिने संकेत गरेको छ । परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नौ महिनादेखि भारतमै रोकिएका नेपाली ग्यास बुलेट संचालन गर्न दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई आग्रह गरे पनि उनले घुमाउरो पाराले अस्वीकार गरेकी छन् ।

भारत भ्रमणमा रहेका महराले स्वराजसँगको द्विपक्षीय भेटमा ग्यास बुलेट संचालन अनुमति दिन प्रस्ताव गरेका थिए । बुलेट संचालन गर्ने वातावरण बनाउन प्रतिबद्धता जनाउनुको सट्टा स्वराजले नेपालकै ग्यास स्टेसनसम्म ढुवानी गरिदिने आश्वासन दिएकी छन् ।

‘ग्यास बुलेटको विषयमा भारतीय पक्ष सकारात्मक देखिएन,’ मन्त्री महराका स्वकीय सचिव युवराज चौलागाईले भने, ‘भारतीय विदेशमन्त्रीले नेपाललाई चाहिनेजति ग्यास इन्डियन बुलेटबाटै ढुवानी गरिदिने बताउनु भयो ।’

ग्यास बुलेट संचालन विषयमा परराष्ट्रमन्त्री महराले कुरा उठाएको द्विपक्षीय भेटमा सहभागी परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौडेलले पनि पुष्टि गरे । –नागरिक दैनिकबाट