प्रदिप पौडेल
पोखरा, माघ १८ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टी सरकारमा पुगेपछि चिकित्सा शिक्षा विधेयकलाई उल्टाइदिने चेतावनी दिएका छन् ।
नेपाल प्रेस युनियन कास्कीले पोखरामा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अनसनरत प्रा.डा. गोविन्द केसीलाई अनसन स्थगन गरेर अन्य आन्दोलन गर्नसमेत आग्रह गरे । डा. केसीले उठाएका मागहरु जनताका माग भएका हुँदा कांग्रेसले पनि साथ दिने र कांग्रेस सत्तामा पुगेपछि ती माग पूरा गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
‘संसदमा भएको हाम्रो आन्दोलन चिकित्सा शिक्षा विधेयक पारितको विषय र डा. केसीको जीवनरक्षाको लागि हो,’ उनले भने, ‘सरकारसँग भएको सम्झौता पालना होस् डा.केसीसँग वार्ता होस्, भनेर नै कांग्रेस सभापतिले अनसन तोड्न आग्रह गर्नुभएको हो । हामीले अहिले डा.केसीलाई अनसन तोड्नुस्, मुद्दा नछोड्नुस् भनेका छौँ । यो मुद्दा तपाईको मात्र हैन हाम्रो पनि हो भनेका हौँ । तोड्ने नतोड्ने उहाँको कुरा हो ।’
उनले आफ्नो गल्ती स्वीकार गर्न नसक्नु नै प्रधानमन्त्री केपी शर्मा ओलीको ठूलो कमजोरी रहेको बताए ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले विगतमा गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु र सेना प्रकरणमा हात हाल्नु नै ठूलो गल्ती भएको स्वीकार गरे पनि ओलीले त्यसरी आफ्ना गल्ती नस्वीकार्नु भनेको निरंकुशतातर्फ उन्मुख भएको उनको टिप्पणी थियो ।
उनले कम्युनिष्ट सरकारको एक वर्षको उपलब्धी भ्रष्टाचार भएको आरोप पनि लगाए । ट्रान्सपरेन्सी इन्टरनेशनले निकालेको तथ्यांकको आधारमा कम्युनिष्ट सरकार गठन भएको एक वर्षको अवधिमा भ्रष्टाचार गर्ने मुलुकको सूचीमा झन् अघि देखिएको उनले बताए ।
प्रवक्ता शर्माले बुढीगण्डकी आयोजनाको उदाहरण दिँदै कम्युनिष्ट सरकारको उपलब्धी भ्रष्टाचार भएको बताए ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको १२०० मेगावाट क्षमताको बूढी गण्डकी आयोजनालाई सुनको किस्तीमा राखेर चीनको गेजुवा कम्पनीलाई बुझाएको शर्माको आरोप छ ।









प्रतिक्रिया दिनुहोस्