५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


पेरिस सम्झौतामा अमेरिका असहमत, विकसित १९ देशले जनाए प्रतिबद्धता


0
Shares

सन् २०१५ मा पेरिसमा भएको सम्झौताप्रति आफ्नो निष्ठा दोहोर्‍याउँदै १९ देशले त्यसप्रति आफूहरु प्रतिबद्ध रहेको बताए ।

तर अमेरिकाले भने त्यसमा सहमति जनाएको छैन । यसले गर्दा जी-ट्वेन्टी सम्मेलन जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता लागु गर्ने विषयमा सहमतिमा पुग्न सकेन ।

जलवायु परिवर्तन हल्ला मात्रै रहेको दाबी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसमा असहमति जनाएपछि अमेरिका सम्झौताबाट बाहिरिएको छ ।

जर्मनीको ह्यामबर्गमा भएको जी-ट्वेन्टी सम्मेलनको अन्तिम दिन सहमतिमा पुग्ने लामो प्रयास भए पनि सफल हुन सकेन र अन्नतः १९ देशका नेताले पेरिस जलवायु परिवर्तन सम्झौता लागु गर्नेसम्बन्धी प्रतिबद्धता दोहोर्‍याएका छन् ।

यो सम्झौताबाट अमेरिका भने बाहिरिएको छ । अमेरिकाको सम्झौताबाट बाहिरिने निर्णयलाई अरु देशले स्वीकृति दिएका छन् ।

ह्यामबर्ग जलवायु परिवर्तनसम्बन्धी सम्झौतामा प्रतिबद्धता जनाउन माग गर्दै प्रदर्शन समेत भएको थियो ।

सम्मेलनपछि जारी गरिएको संयुक्त वक्तव्यमा पेरिस जलवायु सम्झौताबाट बाहिरिने अमेरिकी निर्णय आफूहरुले स्वीकार गरेको उल्लेख गरिएको छ ।

तर सम्मेलनमा सहभागी नेताहरु पेरिस जलवायु सम्झौता परिवर्तन गर्न नसकिने र विश्वको तापक्रम वृद्धि चुनौतिपूर्ण रहेको स्वीकार गरिएको छ ।

यस्तै अमेरिकाले अरु देशलाई इन्धनको प्रयोग स्वच्छ रुपले गर्न सहयोग गर्ने वक्तव्यमा उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन हल्ला मात्रै रहेको भन्दै अमेरिकामा बन्द अवस्थामा रहेका कोइला खानी फेरि सञ्चालनमा ल्याउने बताइसकेका छन् ।

यस्तै पेरिस सम्झौता अमेरिकी कामदारका लागि घातक रहेको पनि बताउँदै आएका छन् । (एजेन्सी)