Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


कोसीमा अर्को ब्यारेज बन्ने


0
Shares

यसका लागि परामर्शदाता नियुक्त गरी एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न सिँचाइ विभागले प्रक्रिया पूरा गरेको छ ।

सुनसरीको बराह क्षेत्रभन्दा तल चतरामा ब्यारेज निर्माण भएमा सुनसरी–मोरङ सिँचाइ प्रणालीको ६८ हजार हेक्टर क्षेत्रमा वर्षभरि पानी पुग्ने र उदयपुर, सप्तरी र सिरहा गरी थप एक लाख हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने सिँचाइ सचिव रामानन्दप्रसाद यादवले बताए ।

‘अहिले कोसीको सतह (रिभर बेड) घट्दै र मुहान सर्दैसर्दै गइरहेको छ, जसबाट ४२ वर्षअघि निर्मित सुनसरी–मोरङ सिँचाइ प्रणालीलाई पानी पुग्दैन,’ यादवले आइतबार भने, ‘नहरमा पानी प्रवाहित गराउने यो मात्र विकल्प देखियो ।’

सचिव यादवका अनुसार कोसीको सतह माथि उठाउन विभागले तीन ठाउँमा स्पर (बगेको पानीको गति रोक्ने संरचना) बनाएर पानी डाइभर्ट गरिसक्दा पनि समस्या थप जटिल हुँदै गएको छ । राज्यले अर्बौं रुपैयाँ खर्चेर तयार गरेको सिँचाइ प्रणालीमा पानी चालु गर्न कोसीमा सिँचाइ ब्यारेज मात्र विकल्प देखिएको सचिव यादवले जानकारी दिए । ‘चालु आर्थिक वर्षभित्र उक्त संरचना निर्माणसम्बन्धी डीपीआर तयार गरी स्वदेशी लगानीमा ब्यारेज निर्माणका लागि मन्त्रालय लागिपरेको छ,’ यादवको भनाइ थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट