५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


लामो समय रणभूमि बनेको मोसुलमा के छ शेष ? इराकी सेनाको विजयोत्सव (फोटोफिचर)


0
Shares

इराकका प्रधानमन्त्री हैदर अल अबादीले इस्लामिक स्टेट (आइएस)को नियन्त्रणबाट मोसुललाई मुक्त गराएकोमा इराकी सेनालाई बधाइ दिएका छन् ।

इराकको प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै मोसुलको स्वतन्त्रता घोषणा गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री अबादी पनि मोसुल मै पुगेको जानकारी दिएको छ । अबादीले इस्लामिक स्टेटमाथि इराकी सेनाको जित भएको घोषणा पनि गरे ।

इराकी सेनाले गत वर्ष अक्टोबर १७ देखि मोसुलमा इस्लामिक स्टेटविरुद्ध सैन्य अभियान केन्द्रीत गरेको थियो । इराकी सेनालाई अमेरिकी वायुसेनाले मद्दत गर्दै आएको थियो ।
मोसुल सहरलाई सन् २०१४ जुन महिनादेखि इस्लामिक स्टेटले नियन्त्रणमा लिएको थियो ।

रणभूमिमा परिणत भएदेखि मोसुलबाट करिब ९ लाख नागरिक विस्थापित भएको बताइन्छ ।

इराकी सेनाले मोसुललाई घेराबन्दी गरी कारवाही अघि बढाएपछि इस्लामिक स्टेटले आत्मरक्षाका लागि कयौं नागरिकलाई मानव ढाल बनाएको थियो भने सडक अवरोध गर्न ठूला भवनहरु भत्काइदिएको थियो ।

हाल मोसुल एक भग्नावशेषका रुपमा सीमित छ । जताततै भग्नावशेष देखिन्छन् । मुस्किलले सिंगो घर देख्न सकिन्छ । अधिकांश घर हवाई हमलामा क्षतिग्रस्त भएका छन् भने विद्रोही पक्षले पनि कयौं घर भत्काएर सडक अवरुद्ध गरेको थियो ।

संयुक्त राष्ट्रसंघका अनुसार मोसुलको आधारभूत संरचनालाई पुनः विकसित गर्नका लागि एक बिलियन अमेरिकी डलर आवश्यक पर्दछ । खानेपानी, विद्युत, विद्यालय, अस्पताल पुनर्निर्माणका लागि थप खर्च आवश्यक पर्ने जनाइएको छ ।

गत अक्टोबरदेखि भएको संघर्षमा दुई हजार ४ सय ६३ जनाको मृत्यु भइसकेको छ । घाइते हुनेको संख्या एक हजार ६ सय ६१ रहेको बताइएको छ । मृत्यु हुनेमा आधाभन्दा बढी सर्वसाधारण रहेको जनाइएको छ । (एजेन्सी)