Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


‘सहिदको परिभाषा बदल्नुपर्छ’


13
Shares

काठमाडौं, माघ १६ । विभिन्न कार्यक्रम गरी बुधबार सहिद दिवस मनाइएको छ ।

मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिदहरुको सम्झनामा विविध कार्यक्रम गरी दिवस मनाइएको हो ।

प्रत्येक वर्ष सरकारीस्तरबाटै सहिद दिवस मनाउने गरिएपनि अहिलेसम्म सरकारी निकायसँग न सहिदको आधिकारिक तथ्यांकक छ, न त सहिदको सर्वमान्य परिभाषा नै ।

मुलुकमा प्रजातन्त्र र स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई तत्कालीन राणा शासकले मृत्युदन्ड दिएका थिए ।

यिनै चारजना सहिद र अन्य विभिन्न कालखन्डमा प्रजातन्त्र र स्वतन्त्रताका लागि ज्यान दिएका सहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ ।

राज्यले सहिदको सम्झना र सम्मानका लागि भन्दै मुलुकका विभिन्न स्थानमा सहिद स्मारकहरु निर्माण गरेको छ । सहिद दिवसका दिन तिनै स्मारकहरुमा माल्यार्पण गर्ने गरिएको छ ।

तर, न त अहिलेसम्म राज्यले सहिदको सर्वमान्य परिभाषा बनाउन सकेको छ, न त राज्यसँग सहिदको यकिन तथ्यांक नै छ ।

सहिदको परिभाषा तय गर्न मोदनाथ प्रश्रित र नवराज सुवेदीको अध्यक्षतामा दुईओटा आयोग गठन भएपनि आयोगको प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन ।

सहिद भन्नाले ‘आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण, लोकहित तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान दिने व्यक्तिलाई सहिद’ भन्ने आम बुझाइ छ ।

तर, २०४६ सालको परिवर्तनपछि राजनीतिक पहुँच र स्वार्थको आधारमा जसलाई पनि सहिद घोषणा गर्ने परम्परा सुरु भयो ।

२०६२–६३ सालको आन्दोलनपछि त सहिद भन्ने शब्द नै विकृति बन्ने अवस्था आएको छ ।

दोस्रो जनआन्दोलनपछि त भीरबाट खसेका, गाडीले ठक्कर दिएका र कालगतिले मृत्यु भएकाहरुलाई पनि पहुँच र व्यक्तिगत स्वार्थपूर्तिका लागि सहिद घोषणा गर्ने विकृति देखापरेका छन् ।

हुँदा–हुँदा व्यक्तिगत झैझगडा, पारिवारिक रिसिइवी वा गुन्डाहरुबाट मारिएकालाईसमेत सहिद घोषणा गरिएको छ ।

इतिहासविद् तथा प्राध्यापक दिनेशराज पन्तले पछिल्लो समय सहिद शब्दको अपव्याख्या भइरहेको भन्दै सहिदको परिभाषा बदल्नुपर्ने धारणा राखे ।

वि.सं. २०४६ को प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा शहादत प्राप्त गर्ने १९ जनालाई सहिद घोषणा गरी सम्मानस्वरुप जनही एक लाख रुपैयाँ आर्थिक सहयोग गरिएको थियो ।

यस्तै, २०६२–६३ सालको जनआन्दोलनकाक्रममा मृत्यु भएका २६ जनालाई सहिद घोषणा गरिएको थियो । यी दुई तथ्यांकबाहेक अन्य सहिदको तथ्यांक सरकारसँग छैन ।

दोस्रो जनआन्दोलनपछि सरकारपिच्छे विभिन्न आन्दोलन र घटनामा निधन भएका व्यक्तिलाई पनि सहिद घोषणा गरिएको छ ।

सरकारले पछिल्लो समय विभिन्न आन्दोलनमा मारिएका १९० जनादेखि द्वन्द्वकालमा मारिएका दुई हजार ८०७ जनालाई एकैपटक पनि सहिद घोषणा गरेको छ ।

सहिद घोषणा गरिएकालाई १० लाख रुपैयाँ दिइने भएकाले पनि सहिद घोषणाका लागि दबाब पर्ने गरेको छ ।

भिडियो हेर्नुहोस्