११ जेष्ठ २०८२, आइतबार | Mon May 26 2025


राजधानीका ज्यानमारा भ्वाङहरुः नागरिकका लागि ‘एम्बुस’


0
Shares

कसैले ‘स्मार्ट सिटी’ र ‘स्याटेलाइट सिटी’ त कसैले ‘मोनोरेल’ सञ्चालन र फ्लाइओभर निर्माण, कसैले निशुल्क वाइफाईको व्यवस्थाजस्ता आश्वासन दिएर नगरलाई सुविधासम्पन्न बनाउने सपना बाँड्न भ्याइसके ।

तर, काठमाडौं महानगरपालिकाकै बासिन्दा धूवाँ-धूलो, हिलो र ढलबाट मुक्त हुन सकेका छैनन् ।

ढल व्यवस्थित गर्न नसक्दा पानी पर्नासाथ सडक नै पोखरीजस्तो बन्ने अनि यात्रु नालीमा डुब्ने मात्र होइन, ज्यानै जानेसम्मका घटना भइरहेका छन् ।

सडक निर्माणका क्रममा महिनौंदेखि त्यत्तिकै राखिएका ठूल्ठूला भ्वाङ नागरिकका लागि ‘एम्बुस’जस्ता बनेका छन् ।

विद्यालयबाट फर्किंदै गरेकी छात्रा सत्या सापकोटा सडककै भेलमा झुक्किएर नालीमा पसिन् ।

झन्डै सय मिटर परसम्म लेदोपानीसँगै बगेकी सत्याले हात हल्लाएपछि स्थानीयले उद्धार गरे ।

सत्या त बाँच्न सफल भइन् तर खेल्दा(खेल्दै ढलमा परेकी नेपालटारकी ११ वर्षीया विनीता फुयाँलले ज्यानै गुमाउनुपर्‍यो । शुक्रबारका यी दुई घटना राजधानीभित्रका प्रतिनिधि मात्र हुन् ।

यस्ता दर्जनौं घटना बर्सेनि भइरहेका छन् तर स्थानीय निकायदेखि केन्द्र सरकारसम्म मूकदर्शक बनिरहेका छन् ।

विगतमा कर्मचारीले मात्र थेगेको स्थानीय निकाय अहिले तह भएपछि जनप्रतिनिधि निर्वाचित भएर आइसकेका छन् ।

उनीहरूले जनतालाई विकासका थुप्रै आश्वासन बाँडिसकेका छन् ।

तर, सडकका खाल्डाखुल्डीसम्म नपुर्दा ज्यानै गुमाउनुपर्ने नगरवासीको पीडामा मह्लम लगाउन जनप्रतिनिधि पनि चुकेका छन् ।

सपना ठूल्ठूला देखाउने तर बजेट छुट्ट्याएका योजनासमेत समयमै पूरा नगर्ने प्रवृत्तिले नागरिक मारमा परिरहेका छन् ।‘

पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाका लागि सडकमा खन्ने तर तत्काल नपुर्ने वा कालोपत्रे नगरेका कारण घाम लागे धूलोले र पानी परे हिलोले हिँड्न सक्ने अवस्था छैन ।

यसको असर यति मात्र होइन, उक्त माटो पसेर ढल थुनिने, त्यसपछि सडकभरि पानी जम्ने अवस्था छ ।

तीनकुने, पुतलीसडक, जमल, बौद्ध, त्रिपुरेश्वर, कालिमाटीलगायत दर्जनौं ठाउँ केही वर्षयता पानी पर्नासाथ पोखरीजस्तै जलमग्न हुने गरेका छन् ।

मेलम्ची खानेपानीका लागि खनिएका ठाउँमा जम्ने पानीले पनि यात्रु र सवारी साधन थुप्रै पटक समस्यामा परेका छन् ।

त्यस्तै, तीनकुनेबाट माइतीघरसम्म फराकिलो सडक बने पनि बागमती र धोवीखोलाका कारण यात्रु र चालकले सास्ती पाइरहेकै छन् ।

बागमतीमा हाल बनाइरहेको पुलमा सावधानी अपनाउन नसक्दा एक लेनको सडकसमेत खाल्डो परेको छ ।

यसै साँघुरो, त्यसमाथि एक लेन सडकमा खाल्डो परेपछि अहिले सवारी जामले यात्रु आक्रान्त छन् ।

जामका अतिरिक्त रातको समयमा यात्रा गर्नेका लागि सावधान गराउने काम पनि भएको छैन । यसले चालक र यात्रु खाल्डोमा पर्ने खतरा बढेको छ । –अन्नपूर्ण पोष्ट दैनिकबाट