
काठमाडौं, माघ १५ । नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ ।
मंगलबार ‘भ्रष्टाचार अवधारणा सूचकांक २०१८’ सार्वजनिक गर्दै ‘टीआइ’ले आमनिर्वाचनपछि पनि नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक देखिएको जनाएको हो ।
१८० मुलुकलाई समेटेर गरिएको सर्वेक्षणमा नेपाल ३१ अंक प्राप्त गरी १२४औं स्थानमा छ ।
नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार–व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी भएको प्रतिवेदनमा उल्लेख छ ।
राजनीतिमा भ्रष्टाचारजस्ता दीर्घकालीन समस्या विद्यमान रहेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेसनले गत वर्षको तुलनामा यस वर्ष भ्रष्टाचारको अवधारणामा सुधार नभएको देखिएको जनाएको छ ।
सन् २०१८ को भ्रष्टाचार अवधारणा सूचांकमा नेपालले गत वर्षझैं ३१ अंक पाएको छ ।
गत वर्ष नेपालभन्दा पछाडि रहेका मुलुकहरुले भने आफ्नो अवस्था सुधार गरेका कारण नेपालको स्तर गत वर्षभन्दा तल पुगेको हो ।
गत वर्ष सुशासनको दृष्टिले १२२औं मुलुक बनेको नेपाल यो वर्ष दुई स्थान तल झरेर १२४औं स्थानमा पुगेको हो ।
१७६ ओटा मुलुकहरुमा सर्वेक्षण हुँदा १२२औं स्थानमा रहेको नेपाल योपटक १८० ओटा मुलुकमा सर्वेक्षण हुँदा १२४औं स्थानमा पुगेको हो ।
सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक
सूचकांकमा डेनमार्कले कुल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएको छ भने सोमालिया १० अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुककारुपमा सूचीकृत छ ।
यसैगरी, दक्षिण एसियाली राष्ट्रहरुमध्ये भुटान २५औं, भारत ७८औं, श्रीलंका ८९औं, पाकिस्तान ११७औं, माल्दिभ्स १२४औं, बंगलादेश १४९औं र अफगानिस्तान १७२औं स्थानमा छन् ।
दक्षिण एसियामा नेपालको अवस्था बंगलादेश र अफगानिस्तानकोभन्दामात्रै राम्रो छ ।
चीन ३९औं अंक प्राप्त गरी ८७औं स्थानमा रहेको छ ।
विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरुद्वारा गरिएका विभिन्न सर्वेक्षणको आधारमा टीआइले यो सूची तयार पारेको हो ।
टीआइले भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा धेरै देशको लोकतन्त्र नै संकटमा पर्दै गइरहेकोसमेत जनाएको छ ।
१०० पूर्णांक मानी तयार गरिने सूचकांकमा ५० भन्दा कम अंक पाउने मुलुकहरु भ्रष्टाचारग्रस्त मानिन्छन् ।
प्रतिक्रिया दिनुहोस्