
काठमाडौं, माघ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता पुनः दोहोर्याएका छन् ।
१८ औं सशस्त्र प्रहरी दिवसको अवसरमा मंगलबार सशस्त्र प्रहरी मुख्यालय, हलचोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अनियमितता गर्नेको अनुहार नरहेरी कानुनी कारबाही गर्ने प्रष्ट पारे । भ्रष्टाचार नियन्त्रणको भाषण गर्ने र भित्रभित्रै भ्रष्टाचारमा लिप्त हुने पुरानो युग समाप्त भएको भन्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न आफू प्रतिबद्ध रहेको बताए ।
प्रधानमन्त्री ओेलीले भ्रष्टाचार नियन्त्रण गर्ने निकाय आफैँले भ्रष्टाचार गर्ने वातावरण बनाइदिनु बिडम्बनापूर्ण स्थिति रहेकोले अब त्यो अन्त्य हुनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी मुलुकको शान्ति सुरक्षा कायम गर्न सक्षम संगठन रहेको भन्दै यसलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्दै लैजाने प्रतिबद्धता जनाए । केही तत्व शान्ति सुरक्षा खल्बल्याउन, राष्ट्रिय अखण्डतालाई चुनौती दिन र निरंकुशता फर्काउन उद्यत रहेको भन्दै उनले कसैको षड्यन्त्र पुरा हुन नदिने स्पष्ट पारे ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले तीनवटै सुरक्षा निकायसँग समन्वय गरेर काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले स्रोत साधनको अभावका बावजुद पनि सरकारले दिएको जिम्मेवारी पुरा गर्न सशस्त्र प्रहरी तयार रहेको बताए ।
कार्यक्रममा पूर्व सशस्त्र प्रहरी महानिरीक्षकद्वय कृष्णमोहन श्रेष्ठ र सहवीर थापालाई मरणोपरान्त कदरपत्रबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा सामाजिक सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई पनि सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्