५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


दक्षिण कोरियाको वार्ता प्रस्तावप्रति उत्तरको मौनता


0
Shares

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग रक्षा र सैनिक सम्बन्धमा वार्ताका लागि सोमबार (हिजो)मात्र वार्ताको प्रस्ताव गरेको हो । तर, मंगलबार (आज)सम्म यस विषयमा कुनै सहमति वा असहमतिबारेको प्रतिक्रिया उत्तरले दिएको छैन ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता मुन सान क्युनले मंगलबार (आज) पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उत्तरसँगको सीमा क्षेत्रमा रहेको ‘पानुमजोम’ नामक एक गाँउमा आगामी शुक्रबार नै वार्ता गर्न दक्षिण कोरियाले प्रस्ताव राखेको थियो ।

उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि छलफल गर्न तथा उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणको शृंखलालाई कमगर्ने विषयमा यो शान्ति वार्ताको प्रस्ताव गरेको हो ।

प्रवक्ता क्युनले मंगलबार (आजै) सोलस्थित रक्षा मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भने– ‘हामीले आगामी शुक्रबारका लागि नै वार्ता गर्न उक्त क्षेत्रमा कुनै सैनिक क्रियाकलाप नगर्न र वार्ताको बारेमा सहमति गर्न औपचारिक रुपमा नै प्रस्ताव पठाएका थियौँ, तर त्यसको जवाफ भने आएको छैन ।’

यो प्रस्ताव विशेषत दुवै तर्फका नागरिकको पुनर्मिलनका लागि गरिएको थियो । सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई समय–समयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार दक्षिणबाट यो प्रस्ताव आएको हो ।

रेडक्रसले पनि सो वार्ताका लागि पहल गर्न भनेपछि दक्षिण कोरियाले पहल थालेको हो । उसको जवाफबमोजिम नै वार्ता कहिले गर्ने भन्ने विषयमा थाहा हुनेपनि प्रवक्ता क्युनले बताए ।

पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कमगर्ने प्रयासस्वरुप पनि सो वार्ताको प्रस्ताव गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सन् २०१५ को अक्टोबरपछि यी दुई देशबीच कुनै वार्ता र दुवै देशका तर्फबाट परिवारहरूको पुनर्मिलन भएको छैन । उत्तरले भने छानिएका व्यक्तिलाई मात्र एक वा दुईदिनसम्म आफन्तसँग बस्न दिने गरेको छ ।

कोरिया युद्धपछि उत्तर र दक्षिण कोरियाका रुपमा देश टुक्रिएका थिए । त्यसलगत्तै यी दुवै देशका ६० हजारभन्दा बढीको संख्याका नागरिक अलग भएर बसेका छन् । रासस/सिन्ह्वा