२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका दुई हजार ८०७ सुरक्षाकर्मीलाई ‘शहीद’ घोषणा


0
Shares

काठमाडौं, माघ १५ । सरकारले सशस्त्र द्वन्द्वको अवस्थामा ज्यान गुमाएका सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सशस्त्र द्वन्द्वका अवस्थामा ज्यान गुमाएका दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र प्रहरी बल नेपालको १८ औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सशस्त्र द्वन्द्वका क्रममा दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरिएको बताए । उनका अनुसार शहीद घोषणा भएकामा नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका एक हजार ४४८, सशस्त्र प्रहरी बलका ३१८ र राष्ट्रिय अनुसन्धान विभागका २३ जना छन् ।

विगतमा एउटाले अर्काको अस्तित्वलाई अस्वीकार गर्ने, अस्तित्वलाई नामेट गर्ने द्वन्द्वमा मुलुक फसेको स्मरण गर्दै उनले भने, ‘एकले अर्कोलाई सम्मान नगर्ने, बाँच्दामात्र होइन, जीवन समर्पण गरिसकेपछि पनि सम्मान गर्न नसक्ने मानसिकतामा थियौं, आज त्यस मानसिकताभन्दा माथि उठेर एकअर्काले सबैलाई सम्मान गर्ने, मेलमिलापको भावनाका साथ अगाडि बढ्ने र राष्ट्रलाई एकताबद्ध बनाएर अगाढि लैजाने भावना यसभित्र प्रकट छ ।’