Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


‘छाउ बार्न’ दामीकै दबाब, रुघाखोकी र ज्वरो आउँदा धामीकै भर


0
Shares

गाउँले बिरामी हुँदा होस् वा समस्यामा पर्दा उनै माताको शरणमा पुग्छन् । आफूकहाँ हेराउन आउनेलाई माताको एउटै सुझाव हुन्छ, ‘महिनावारी नबार्दा समस्या आइलाग्यो ? अब घरमा छाउ बार्नू ।’

गाउँमा नजिकै अस्पताल छैन । भएका स्वास्थ्य संस्थामा पनि भरपर्दो उपचार हुँदैन । केही उपाय नलागेपछि गाउँलेहरू माताको शरणमा पुगेर उपचारका लागि हारगुहार गर्छन् ।

माताको उपचार गर्ने एउटै मन्त्र छ । उपचारका लागि आउनेलाई उनी ‘छाउ बार्न’ सुझाव दिन्छिन् । गाउँलेहरू पनि माताकै विश्वासमा छाउ बार्न तयार हुन्छन् ।

महिनावारी हुँदा छुइछाई नगर्न माताले दिएको सुझावअनुसार नै स्थानीयले महिनावारीको बेलामा महिलालाई छाउगोठमा राख्छन् ।

गाउँकै धामीको विश्वास र देउता रिसाउने भ्रमका कारण यहाँ छाउ बार्ने संस्कारले जरा गाढेको छ । बेलुकी छाउगोठमा सुतेकी किशोरी बिहान मृत भेटिँदासमेत स्थानीय सचेत छैनन् ।

बरु गाउँका धामीझाँक्रीले भनेबमोजिम नै छाउ बार्न तयार छन् । स्थानीय धामीझाँक्रीका लागि पनि छाउगोठ उपचारको गतिलो मन्त्र बनेको छ ।

सामान्य रुघाखोकी र ज्वरो आउँदा होस् वा पशु बिरामी हुँदा, धामीले छुइछाइ नै मुख्य कारण देखाउँदै आएका छन् ।

अनि उपचार मन्त्रको रूपमा उनीहरूले छाउ बार्न सुझाव दिने गरेका छन् । धामीको यही गलत सुझाव र सल्लाहका कारण पनि छाउपडी उन्मूलनमा चुनौती थपिएको छ ।

गाउँलेले माताको रूपमा पुकार्ने शान्ताको घरमा पुग्दा केही मान्छे पनि आइपुगे । बच्चा बिरामी भएपछि उपचारको खोजीमा उनीहरू त्यहाँ पुगेका थिए ।

माताले अक्षता र भेटी राख्न भनेपछि उनीहरूले सोहीअनुसार गरे । माता केही बेरमै धामी कामिन् ।

सोही क्रममा उनले भने, ‘अरू सबै राम्रो छ तर घरमा छुइछाइ भएको रहेछ । घरमा महिला पाखा सरेका बेला होस पुर्‍याउनू, अबदेखि छाउ बार्नू ।’

धामीले भनेपछि उनीहरूले पनि सोहीअनुसार गर्ने बाचा गरे । अभिभावकको भनाइअनुसार बच्चालाई रुघाखोकीसँगै ज्वरोको समस्या थियो ।

तर, माताले छाउ बार्नू भन्दै सुझाव दिएपछि उनीहरू त्यहाँबाट फिर्ता भए । स्थानीय बासिन्दाका अनुसार गाउँका धामीले जे समस्या पर्दा पनि छुइछाइकै कारण देखाउने गरेका छन् ।

आफूलाई अप्ठ्यारो वा समस्या पर्दा गाउँले स्थानीय पादुकास्थान मन्दिरका महन्त (पुजारी) देवीनाथ योगीको शरणमा जान्छन् । महन्तले दिएको सुझावअनुसार नै उनीहरूले समाधानको कसरत पनि गर्दै आएका छन् ।

छाउपडीबारे धारणा बुझ्न खोज्दा उनले आफ्नो कहानी सुनाए। उनले भने, ‘केही वर्षपहिला खाना खाने बेला मेरो हात थालसम्म पुगेन, हातै रोकियो भने मुन्टो पनि पछाडि फर्कियो ।

त्यो खाना छाउ भएकी केटीले पकाएकी रहिछ, देउताले थाहा पाएर त्यो खाना खानै दिएनन् ।’ छाउ भएकी महिलाले छुइछाइ गर्दा यस्तो भएको उहाँको दाबी थियो । -अन्नपूर्ण पोष्ट दैनिकबाट