Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


धादिङमा सडक दुर्घटनामा तीनजनाको मृत्यु, १० घाइते


0
Shares

धादिङको बेनीघाट–रोराङ गाउँपालिका वडा नम्बर–५ स्थित विशालटारमा यात्रीबाहक बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख २२९३ नम्बरको यात्रीबाहक बस सडकबाट २० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा दुबैजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बसचालक झापा, शिवसतासी गाउँपालिका वडा नम्बर–६ का कमल ढुंगाना र सोही स्थान बस्ने सहचालक नवराज शिवाकोटी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित वीर अस्पतालमा पठाइएको छ । घाइते सबैको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, चितवनबाट काठमाडौं जाँदै गरेको बा१५च ४५२६ नम्बरको स्कारपियो जिप गजुरी गाउँपालिका वडा नम्बर–१ गलौदीस्थित सडकमा पल्टँदा विष्णुकुमारी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

स्कारपियो जिपमा कपिलवस्तु जिल्ला महाराजगन्ज नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद शर्मा र उनकी श्रीमती विष्णुकुमारी शर्मासहित सवार थिए । विष्णुकुमारीको गजुरी अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो ।

घटनामा उनका छोरा शशांक शर्मा घाइते भएका छन् । गजुरी अस्पतालमा उनको उपचार भइरहेको छ ।

दुर्घटनापछि गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस