२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


बम दिदी–बहिनीको पत्रकार सम्मेलनमा यसकारण भयो हो–हल्ला (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी र नवीन स्थापित (इमेज)

काठमाडौं, माघ १४ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा मुछिएका बम दिदी–बहिनीले नेपाल मानवअधिकार संगठनको प्रतिवेदनमा पनि आफूहरुको नाम मुछिएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै बबिता बम र रोशनी बमले संगठनको प्रतिवेदनप्रति आपत्ति जनाएका हुन् ।

पत्रकार सम्मेलनमा आफ्नी आमासँगै उपस्थित भएका बम दिदी–बहिनीका कुरा भने आफैंमा विरोधाभाषपूर्ण थिए ।

निर्मला हत्याकान्ड भएको ६ महिनापछि पहिलोपटक राजधानीका पत्रकारहरुसामु उपस्थित भएका बम दिदी–बहिनी पत्रकारका जिज्ञासाहरुको जवाफ दिनेक्रममा निकै आक्रोशितरुपमा प्रस्तुत् भए ।

कहिले दिदी बबिता त कहिले बहिनी रोशनी र कहिले आमाले पत्रकारका प्रश्नको जवाफ दिने कोसिस गरेपनि उनीहरुका कुरा आफैंमा बाझिएका थिए ।

दिदी बबिताले निर्मलालाई आफूले चिन्दै नचिनेकोसमेत भन्न भ्याइन् भने बहिनी रोशनीले घटना भएको दिन निर्मला आफ्नो घर आएर ‘होमवर्क’ गरेर गएको र साँझ निर्मलाकी आमाले आफूलाई धम्क्याएर गएको गुनासो गरिन् ।

छोरीहरुले बोल्दा–बोल्दै ‘मैले जवाफ दिन्छु’ भन्दै आमा अघि सरेपछि भने पत्रकारहरुले हो–हल्ला गरेका थिए ।

त्यसपछि पुनः ‘माइक’मा गएकी रोशनी बमलाई पत्रकारहरुले उनीहरुको घर परिसरको ‘अम्बाको बोट किन काटियो ?’ भनी सोध्दा उनले घरको पर्खाल भत्किएकाले अम्बा चोरी हुने डरले बोटै काटिदिएको जवाफ दिइन् ।

निर्मलालाई चिन्दै नचिनेको बताएकी दिदी बबिताले निर्मलाको हत्याकान्डमा आफूहरुको संलग्नता रहेको भए जेल जान तयार रहेको भन्दै आफूहरुलाई समाजमा जिउने वातावरण मिलाउन आग्रह गरिन् ।

पत्रकार सम्मेलनको अर्को रोचक पक्ष के थियो भने निर्मला हत्याकान्डपछि दोषीलाई कारबाही गर्न माग गर्दै पेटीकोटमात्रै लगाएर प्रदर्शनमा उत्रिएकी सावित्री सुवेदी बम दिदी–बहिनीको वकालत गर्दै उपस्थित भएकी थिइन् ।

पत्रकारका प्रश्नको जवाफ दिनबाट पन्छिन खोजेकी उनले आफू निकै व्यस्त रहेको बताएकी थिइन् ।

सुवेदीले बम दिदी–बहिनीलाई मुछ्ने गरी प्रतिवेदन बनाउनेहरुलाई कानुनी कठघरामा उभ्याउने पनि बताइन् ।

मानवअधिकार संगठनमात्रै नभइ यसअघि गठन भएका हरेक छानबिन समितिहरुका प्रतिवेदनमा बम दिदी–बहिनीको नाम समावेश छ ।

घटनामा उनीहरु संलग्न भए/नभएको वा दोषीहरुबारे उनीहरुलाई थाहा भए/नभएको विषयमा भने गम्भीर अनुसन्धान हुनु जरुरी छ ।

भिडियो हेर्नुहोस्