Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


कर फर्छ्योट आयोगका पदाधिकारीद्वारा अंक नै केरमेट गरेर कर मिनाहा !


0
Shares

आयोगमा व्यवसायीको निवेदन दर्ता र कर फर्छ्योटपछि पत्राचारका क्रममा तथ्यांक नै केरमेट गरिएको र सर्वसम्मत निर्णयसमेत सच्याएको भेटिएको हो ।

स्रोतले उपलब्ध गराएको विवरणअनुसार आयोगको रजिस्ट्ररमा दर्ता र चलानीको अभिलेख केरमेट र फेरबदल गरी निर्णय गरिएको मात्र होइन, केही फाइलमा सर्वसम्मत निर्णय भइसकेको विषयलाई आयोगका तत्कालिन सदस्य सचिव चूडामणि शर्माले केरमेट गरेर सच्याई हस्ताक्षर गरेको समेत देखिन्छ ।

यस्तै, दर्जनौं ठाउँमा पत्राचारका चलानी नम्बर ‘ब्याक डेट’ मा केरमेट गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा समेत यस्ता तथ्य भेटिएका छन् ।

‘कर फर्छ्योट आयोगको दर्ता किताबमा कम्पनीहरूको नाम केरमेट गर्ने, पहिले दर्ता गरेको कम्पनीको नाम हटाएर ठूलो रकम कर बुझाउन बाँकी अर्को कम्पनीको नाम दर्तालगायत गरेको देखिन्छ,’ स्रोतले भन्यो, ‘आयोगको कार्यविधिमा दर्ता निवेदनअनुसार व्यवसायीहरूका बारेमा निर्णय गर्ने भनिए पनि बदनियतपूर्ण रूपमा काम गरेको खुल्छ ।’

चार्टर्ड एकाउन्टेन्टद्वय लुम्बध्वज महत अध्यक्ष र उमेश ढकाल सदस्य रहेको आयोगले सर्वसम्मत निर्णय लिएकोमा पनि सदस्य सचिव रहेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माले राजस्वको अंक नै केरमेट गरेको पत्ता लाग्यो । उनले सम्झौतापछिको मितिमा समेत अंक सच्याएको भेटिएको छ । –कान्तिपुर दैनिकबाट