
भारतको इन्दौरस्थित तरकारी बजारमा हाल बन्दुकसहित सुरक्षा गार्ड तैनाथ गरिएको छ, जसको प्रमुख उद्देश्य टमाटरको सुरक्षा नै हो ।
टमाटर लोड भएको ट्रक अगाडी बन्दुकसहित उभिएका एक सुरक्षा गार्डको तस्वीर सामाजिक संजालमा भाइरल भइरहेको छ । भारतीय संचारमाध्यमले पनि उक्त तस्वीरसहितको समाचारलाई प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गरेका छन् ।
भारतीय संचारमाध्यमका अनुसार इन्दौरको तरकारी बजारमा कुनै बेला टमाटरको मूल्य २५ पैसा प्रतिकिलो थियो । तर अहिले सय रुपैयाँ प्रतिकिलोमा पनि टमाटर पाउन छाडेपछि यसको सुरक्षामा विशेष ध्यान दिन थालिएको हो ।
केही अघि तरकारी बजारबाट कयौं क्रेट टमाटर चोरी भएको थियो । बजार मूल्य महँगो भएपछि टमाटर लुट्ने र चोर्ने क्रम बढेकाले सुरक्षाका लागि सशस्त्र गार्ड तैनाथ गरिएको बजार व्यवस्थापन समितिको भनाइ छ ।
उक्त बजारमा टमाटर बोकेको ट्रक आएदेखि टमाटर बिक्री नभएसम्म हतियारधारी सुरक्षा गार्डले पहरा दिइरहने व्यवस्था मिलाइएको छ ।
टमाटर उत्पादन कम भएकाले पनि मूल्य बढेको व्यावसायीहरु बताउँछन् । बजारमा अभावसँगै मूल्यबृद्धि हुने र मूल्यबृद्धिकै कारण टमाटर चोरिने, लुटिने भएकाले सुरक्षाका लागि अनुरोध गरिएको व्यवसायीहरुले बताएका छन् ।
थोक व्यापारी सुभाष नारङ्गका अनुसार केही दिनअघि मुम्बईका केही युवाले टमाटर बोकेको गाडी नै लुटेका थिए ।
अहिले मूल्यवान भएकै कारण टमाटरको सुरक्षाका लागि बन्दुकधारी गार्ड तैनाथ गर्नुपरेको क्षेत्रमै तीन महिना अघि भने किसानले उचित मूल्य नपाएको भन्दै सडकमा टमाटर फालेर विरोध प्रदर्शन गरेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्