
काठमाडौं, माघ १४ । २० दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै देशभरका चिकित्सकहरुले सोमबारदेखि रिले अनशन सुरु गरेका छन् ।
चिकित्सा शिक्षा सुधारलगायत माग राखेर गएको पुस २५ देखि १६औं अनशनमा रहेका डा. केसीका माग पूरा गर्न सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा रिले अनशन सुरु गरिएको हो ।
उपत्यकाका चिकित्सकले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र उपत्यकाबाहिरका चिकित्सकले आफू कार्यरत् अस्पताल वा संघको शाखा कार्यालयमा धर्ना दिएका छन् ।
रिले अनशन बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म चल्नेछ ।
चिकित्सिक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले डा. केसीको जीवनरक्षाका लागि सरकारले कुनै पहल नगरेपछि रिले अनशनमा उत्रन बाध्य भएको बताए ।
संघमा करिब ८ हजार चिकित्सक आवद्ध छन् । संघले रिले अनशन सुरु गरेपनि ओपीडी सेवा भने प्रभावित भएको छैन ।
दुई दिनसम्म पनि माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रने चेतावनी संघले दिएको छ ।
शिक्षण अस्पतालका ३०० भन्दा बढी आवासीय चिकित्सकले भने गत शुक्रबारदेखि नै आकस्मिकबाहेकका अन्य सेवा छाडेका छन् ।
डा. केसीको छाती र मुटुमा समस्या
यता, डा. केसीको छाती र मुटुमा समस्या देखिएको छ भने निद्रामा समस्या देखिएको उनको उपचारमा संलग्न डा. प्रमेश श्रेष्ठले जानकारी दिए ।
डा. केसीको शरीरमा सेतो रक्तकोसिकाहरु कम हुँदै गएको छ भने कमजोरी थप बढेको छ ।
प्रतिक्रिया दिनुहोस्