
नवराज छत्कुली
धादिङ, माघ १३ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका–४ हिन्दुङमा पहिरोमा पुरिएर दुईजना बेपत्ता भएका छन् ।
लगातारको हिमपातपछि पहिरो जाँदा आइतबार बिहान उनीहरु सम्पर्कविहीन बनेका हुन् । बेपत्ताहरुको स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् ।
बेपत्ता हुनेहरुमा १८ वर्षीय धनबहादुर तामाङ र ४५ वर्षीय नुर्बु तामाङ छन् । पहिरोमा दुई सय ६० वटा भेँडाबाख्रा पुरिएको प्रहरीले जानकारी दिएको छ ।
रुवीभ्याली गाउँपालिकाको केन्द्र सेर्तुङबाट ५ घण्टाको पैदल दुरीमा रहेको हिन्दुङमा उद्धारका लागि प्रहरी टोली पुगेको छ । ठूलाठूला ढुंगा र चट्टानका कारण पहिरो पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बताए ।
घटनापछि जिल्लामा सुरक्षा समितिको बैठक बसी औजारसहित नेपाली सेना पठाउन गृह मन्त्रालयलाई पत्राचार गरिएको छ ।
लगातार परेको हिमपातका कारण उत्तरी धादिङको जनजीवन प्रभावित बनेको छ । हिमपातबाट बच्नका लागि भेडिगोठ सारी ओडारमा बसेको अवस्थामा पहिरो आई पुरिएको प्रहरीले जानकारी दिएको छ । ओडारमा लुकेका बेला ओडारमा पहिरो गई पुरिएको आशंका गरिएको छ ।
शुक्रबारदेखि नै परेको हिमपातका कारण गोठ पुरेपछि गोठालाहरु नजिकैको ओडारमा बस्न पुगेका थिए ।
पहिरोमा पुरिएर बेपत्ता भएको खबर आएपछि सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, प्रतिनिधिसभा सांसद जगत सिंम्खडा, पूर्व गृहमन्त्री बुद्धिमान तामाङको टोली हेलिकप्टर मार्फत घटनास्थलमा पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्