Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


बच्चा जन्माउन नसकेर गैंडाको मृत्यु


0
Shares

करिब पाँच वर्षको गैँडा यसरी मृत्यु भएको पाइएको निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा.कमल गैरेले मंगलबार (आज) जानकारी दिए ।

‘निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत डुमरिया र दुधौरा पोष्टको बीचमा गत शुक्रबार गैँडा मरेको भेटियो’, गैरेले भने, ‘केटो पेटभित्रै मरेको पाइयो ।’ निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार बच्चा ठूलो भएकाले जन्माउन नसकेको हो । उनले यो उसको पहिलो बच्चा भएको दाबी गरे । शव परीक्षण गरेर मरेको भाले केटोलाई निकालिइएको हो ।

गत पुस ५ गते पनि यसैगरी बच्चा जन्माउन नसकेर एउटा गैँडाको मृत्यु भएको थियो ।

चितवन निकुञ्जका अनुसार गएको एकवर्षमा विभिन्न कारणले २५ गैँडा मरेको छ । २१ ओटा प्राकृतिक कारणले मरेको हो । दुईओटा गैँडा तस्करको गोलीबाट मारिएको थियो भने दुईओटा गैँडा करेन्ट लागेर मरेको थियो ।

पछिल्लो गणनामा चितवन निकुञ्जमा दुर्लभ एकसिंगे गैँडा ६०५ ओटा रहेको तथ्यांक छ । उक्त गैँडामध्ये एकदर्जन जति शुक्लाफाँटा र बर्दियामा पठाइएको छ । रासस