महानगरपालिकाले एउटा निजी कम्पनीलाई करिब १३ सय सौर्यबत्ती जडान गर्ने स्वीकृति दिएसँगै अहिले धमाधम काम भइरहेको छ ।
सौर्यबत्ती जडानपछि शहरको शोभा बढ्ने विश्वास महानगरपालिकाले लिएको छ ।
काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि शहर झिलिमिली बनाउने अभियान अघि बढाएको छ ।
महानगरपालिकाले शहरका विभिन्न ठाउँमा सौर्य बत्ती जडान गरी झिलिमिली बनाउने अभियान अघि सारेको हो ।
आफ्नो लगानी बिनै महानगरपालिकाले सौर्य बत्ती जडान गर्ने जिम्मा निजी कम्पनीलाई दिएको छ ।
बिके ट्रेडर्स एन्ड सप्लायर्सले जिम्मा पाएको अभियानअनुसार अहिले द्रुतगतिमा काम भइरहेको छ ।
महानगरपालिकाका मुख्य–मुख्य सडकलाई उज्यालो र झिलीमीली बानाउने लक्ष्यका साथ बत्ती जडान कार्य अगाडि बढाइएको र त्यसमा महानगरको कुनै लगानी नरहेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
महानगरपालिकाले कम्पनीका प्रत्येक पोलको वार्षिक ८ हजार ७ सय रोयल्टी र त्यसमा लाग्ने विज्ञापनको दररेट बमोजिम राजस्व तिर्ने गरी निजी कम्पनीसँग सम्झौता गरेको हो ।
हालसम्म १ हजारभन्दा बढी सौर्य बत्ती जडान भइसकेको महानगरपालिकाले जनाएको छ । करिव २१ करोड रुपैयाँको लगानीमा १ हजार २ सय ८५ थान सौर्य बत्ती जडान गर्ने लक्ष्य राखिएको छ ।
सौर्यबत्ती जडानपछि विजुली खपत पनि कम हुने र साँझपख हिँड्ने यात्रुलाई पनि सहज हुने विश्वासका साथ यो प्रोजेक्ट अघि सारिएको हो ।
निजी क्षेत्रले सञ्चालन गरेको यो प्रोजेक्ट १० वर्षपछि महानगरपालिकाको स्वामित्वमा आउने छ । यसबाट वार्षिक महानगरपालिकालाई ३ देखि ४ करोड रुपैयाँसम्मको आम्दानी हुने दाबी महानगरपालिकाको छ ।
अहिलेसम्म कोटेश्वरदेखि माईतीघर, थापाथली, त्रिपुरेश्वर, दरवारमार्ग, सोह्रखुट्टे, लैनचौर बालाजु चोकलगायत स्थानमा सौर्य बत्ती जडानको काम सम्पन्न भइसकेको छ ।
आगामी केही दिनमै सबै काम सम्पन्न हुने महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले निजी क्षेत्रलाई यो पोजेक्ट दिएपछि सर्वसाधारणलाई राहत त मिल्ने नै छ, शहरको शोभा बढाउनसमेत सहयोग पुग्ने देखिएको छ ।










प्रतिक्रिया दिनुहोस्