काठमाडौं, माघ १२ । उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ७०औं गणतन्त्र दिवसका अवसरमा शनिबार अपराह्न भारतीय राजदूतावासमा आयोजित विशेष समारोहमा सहभागी भए ।
नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषदका सदस्य, संवैधानिक अंगका प्रमुख, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, पूर्वमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योगपति, व्यापारी, कलाकार, साहित्यकार, प्राज्ञ, कामका सिलसिलामा राजधानीमा रहेका भारतीय नागरिक तथा वरिष्ठ सन्चारकर्मीको उपस्थिति थियो ।
समारोहमा उपराष्ट्रपति पुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई र राजदूत पुरीले नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको सात दशक पुगेको अवसरमा दूतावासले प्रकाशन गरेको ‘भारत–नेपाल कूटनीतिक सम्बन्धका ७० वर्ष’ नामक पुस्तक संयुक्तरुपमा लोकार्पण गरे ।
यसअघि, शनिबारै बिहान दूतावासमा आयोजित एक कार्यक्रममा राजदूत पुरीले भारतको राष्ट्रिय झन्डा फहराउनका साथै भारतका राष्ट्रपतिले गणतन्त्र दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देश वाचन गरेका थिए ।
त्यस अवसरमा केन्द्रीय विद्यालय, मोडर्न इन्डियन स्कुल तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थीले देशभक्तिका गीत प्रस्तुत् गरेका थिए भने नेपाली सेनाको टोलीले विविध मधुर संगीत पस्केको थियो ।
सोही कार्यक्रममा राजदूत पुरीले दुई वीर नारी, ९ एकल महिला र तीन मृतक सैनिकका निकटतम् नातेदारलाई रु ७ करोड २६ लाख नगद तथा कम्बल प्रदान गरे ।
त्यसैगरी, उनले नेपालका विभिन्न जिल्लाका अस्पताल, गैरनाफामूलक संस्था तथा शैक्षिक प्रतिष्ठानलाई ३० ओटा एम्बुलेन्स तथा ६ ओटा बसको साँचो हस्तान्तरण गरे ।
राजदूतावासले नेपालका दुर्गम भेगका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउन ५४ ओटा शैक्षिक संस्था तथा पुस्तकालयलाई अनुदानस्वरूप पाठ्यपुस्तक प्रदान गर्ने घोषणा गरेको छ ।
सन् १९९४ यता भारत सरकारले स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहुँच विस्तार गर्न नेपालका विभिन्न संस्थाहरुलाई ७२२ एम्बुलेन्स र १४२ बस प्रदान गरिसकेको छ । रासस









प्रतिक्रिया दिनुहोस्