गृष्मा राजभण्डारी र नवीन स्थापित (इमेज)
काठमाडौं, माघ १२ । सभामुखको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर प्रश्न उठाइरहेका बेला संसद बैठकमा सभामुख कृष्णबहादुर महराले पुनः अर्को गल्ती गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने बेलामा सभामुख महराले गम्भीर गल्ती गरेका हुन् ।
विपक्षीको अवरोधकैबीच अघि बढाइएको बैठकमा सभामुख महरा निकै हतास मनस्थितिमा देखिएका थिए ।
विपक्षीको बेल घेराउ र नाराबाजीकैबीच सभामुख महराले विधेयक पेस गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई अनुमति दिए ।
ठेलमठेलकाबीच रोस्ट्रममा पुगेका मन्त्री पोखरलले विपक्षीतर्फ हेरेर हाँस्दै विधेयक पेस गरे ।
मन्त्री पोखरेलले विधेयक पेस गरेपछि सभामुख महराले निर्णायार्थ सदनमा प्रस्तुत् गर्दा कांग्रेसका सांसदहरुले बेल घेराउ गरी नाराबाजी गरिरहेका थिए ।
कांग्रेसको विरोधले आत्तिएको जस्तै देखिएका सभामुखले सदनको निर्णय सुनाउँदा गल्ती गर्दै ‘हुन्न भन्ने पक्षमा माननीय सदस्यहरुको बहुमत देखिएको’ भन्दै विधेयक पारित गरेको घोषणा गरे ।
सदनमा विधेयकको पक्षमा बहुमत रहेको स्पस्ट देखिएको छ । त्यो विधेयक बहुमतले पारित पनि भएको हो ।
तर, सभामुख महरा हडबडाएर ‘हुन्न भन्ने पक्षमा माननीय सदस्यहरुको बहुमत देखिएको’ भन्दै गल्ती गरे ।
यसले पनि सभामुख निकै अत्तालिएको प्रस्ट भएको छ । सभामुख महराले पढेर सुनाएको निर्णयमै गलत बोले पनि फेरि त्यहाँ सच्याउने काम भएन ।
तत्काल आवश्यक सल्लाह दिनका लागि सभामुखसँगै प्रतिनिधिसभा बैठकमा सचिव रहने व्यवस्था छ । तर, सभामुखले हतार–हतारमा बोलेको उक्त कुरा कसैले पत्तै पाएनन् । तर, यो कुरा संसदको रेकर्डमा रहनेछ ।
यसलाई नेपाली कांग्रेसले सभामुखको भूमिकामा उठाउँदै आएको प्रश्नलाई मलजल गर्न पक्कै सहयोग पुग्ने कतिपयको विश्लेषण छ ।
पूर्वसभामुख दमननाथ ढुंगानाले शुक्रबार संसदमा भएको घटना संसदीय मूल्य र मान्यताविपरीत भएको बताए ।
उनले प्रतिपक्षी र अनशनकारीसँग संवादका लागि सरकारलाई दबाब दिनुपर्नेमा हतार गर्न खोज्दा अन्तर्राष्ट्रिय जगतमै खराब सन्देश गएको टिप्पणी गरे ।
सभामुखले पटकपटक गल्ती गरेको आरोप कांग्रेसले लगाउँदै आएको छ । चिकित्सा शिक्षा विधेयक पारित गर्नुअघि पनि आफूहरुलाई सभामुखले छक्याएको र जालझेल गरेको आरोप कांग्रेसको छ ।
कांग्रेस सांसद गगन थापाले प्रतिनिधिसभाको बैठकअघि सभामुख महराले संसदमा मुठभेड नगर्ने सन्देश दिएपनि बैठक सुरु भएपछि जालझेलपूर्ण व्यवहार गरेको आरोप लगाए ।
सभामुखले निषेधको राजनीति गरेको आरोप लगाउँदै आएको कांग्रेसले अबको लडाइँ सरकार र सभामुखविरुद्ध हुने र त्यो निकै महँगो हुने चेतावनी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्