Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


कपिलवस्तुमा छुट्टाछुट्टै दुर्घटनामा चारजनाको मृत्यु


0
Shares

बिहीबार दिउँसो १ः३० बजेतिर पूर्वपश्चिम लोकमार्गअन्तर्गत् जिल्लाको बनगाई–गोरुसिंगे सडकखन्डको कोन्द्रेखोलानजिक बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना५ख ३३७१ नम्बरको बसले रा४प ४४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट रोल्पा, जाउलीपोखरी बस्ने ३८ वर्षीय हुमबहादुर पुनमगरको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

मोटरसाइकलमा सवार पुनकी श्रीमती र डेढ वर्षीय छोराको अवस्था गम्भीर रहेको छ ।

यसैगरी, जिल्लामा परेको अविरल वर्षाका कारण आएको खोलाले बगाउँदा बाणगंगा नगरपालिका वडा नम्बर–११, विजयनगर गाउँपालिका वडा नम्बर–१ र शिवराज नगरपालिका वडा नम्बर–९ मा गरी तीनजनाको मृत्यु भएको छ ।

वाणगंगा नगरपालिका वडा नम्बर–११ मा पर्ने मधुनिधिघाट खोलामा डुबेर १७ वर्षीय सागर थारुको मृत्यु भएको हो ।

खोलामा पुगेको भैंसी निकाल्न जानेक्रममा डुबेर बेपत्ता भएका थारु घटनास्थलदेखि १०० मिटर तल नदी किनारमा मृत भेटिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।

यसैगरी, आफन्तको मृत्युको किरिया गर्नेक्रममा विजयनगर गाउँपालिका वडा नम्बर–१, नौडिहवामास्थित बिसहवा खोलाले बगाउँदा ५० वर्षीय पुष्टे सुनारको मृत्यु भएको हो ।

सोही ठाउँमा रोल्पा नै घर भइ विजयनगर गाउँपालिका वडा नम्बर–१, नौडिहवामा आफन्तको घरमा आएका ५१ वर्षीय नेत्र सुनार भने खोलामा डुबेर बेपत्ता भएको गणेशपुर प्रहरीचौकीले जनाएको छ ।

यस्तै, शिवराज–९ शिवगढी बानियाँभारमा कक्षा–४ मा अध्ययनरत् ८ वर्षीय सन्दीप बिकको पनि बिहीबार खोलामा डुबेर ज्यान गएको छ ।

निउरो टिप्न जंगल गएका बिक पौडी खेल्न भन्दै खोलामा जाँदा डुबेर ज्यान गएको जनाइएको छ ।