२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


सिरहामा बस दुर्घटना, एक यात्रीको मृत्यु, २० बढी घाइते


0
Shares

लहान, माघ ११ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सिरहाको कर्जन्हा नगरपालिकामा शुक्रबार बिहान यात्रीवाहक बस अनियन्त्रित भइ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्री घाइते भएका छन् ।

राजविराजबाट जनकपुरतर्फका लागि गुडेको ना५ख २५८८ नम्बरको ओम लक्ष्मी डिलक्स कर्जन्हा नगरपालिका–४ स्थित भुलकियामा अनियन्त्रित भइ दुर्घटना हुँदा बसमा सवार पर्सा, गढीमाई नगरपालिका–४ निवासी ३५ वर्षीय दीपराज यादवको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका यादवको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए ।

दुर्घटनामा २५ जना यात्री घाइते भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

तीव्रगतिका कारण बसको ‘स्ट्रिरिङ’ले काम नगरेपछि बस दुर्घटना भएको बसमा सवार यात्रीले बताएका छन् ।

घाइतेमध्ये अधिकांशको टाउकोमा चोट लागेको छ ।

गम्भीर घाइते भएका धनुषाको लगराइन नगरपालिका–५ निवासी रामप्रताप राउतलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र अन्य घाइतेको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस