Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


नेकपाको एकता प्रक्रिया टुंगो लगाउन गठित कार्यदलमै विवाद


0
Shares

शंकर खनाल र राममान डंगोल (इमेज)

काठमाडौं, माघ ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया टुंगो लगाउन गठित कार्यदलमा विवाद हुँदा पार्टी संगठन विस्तारले पूर्णता पाउन सकेको छैन ।

जसका कारण स्थानीयस्तरमा पार्टीका काम अगाडि बढ्न सकेका छैनन् भने नेता–कार्यकर्ता जिम्मेवारीविहीन भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्लो तहको एकीकरण प्रक्रिया टुंगो लगाउन स्थायी कमिटी बैठकले ९ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदललाई सुझावसहितको प्रतिवेदन दिन पुस मसान्तसम्मको समय दिइएको थियो । तर, कार्यदल निर्धारित् समयभित्र आफ्नो काम टुंगो लगाउन असफल भएको छ ।

प्रदेश कमिटी हेरफेरका विषयमा विवाद भएपछि कार्यदलले निर्णय लिन नसकेको हो ।

कार्यदलका सदस्य योगेश भट्टराईले जिम्मेवारी पूरा गर्न कार्यदललाई अझै केही समय लाग्ने बताए ।

केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, पोलिटब्यूरो गठन, जिल्ला कमिटीसहित जनवर्गीय संगठन, विभाग एवं आयोगको एकता टुंगो लगाउने जिम्मेवारी कार्यदलले पाएको छ ।

कार्यदलले समयमै काम गर्न नसकेपछि हजारौं नेता–कार्यकर्तालेसमेत कुनै जिम्मेवारी पाउन सकेका छैनन् भने स्थानीयस्तरमासमेत पार्टीको कामले तीव्रता पाउन सकेको छैन ।

कार्यदलले पुस मसान्तभित्रैमा पार्टी एकताको गृहकार्य गरी प्रतिवेदन बुझाउने गरी पटक–पटक बैठक गर्‍यो । तर, आधा माघ बितिसक्दासमेत एकता टुंगो लगाउने मिति कार्यदलले फेलापार्न सकेको छैन ।

पछिल्ला दिनमा त कार्यदलको बैठकसमेत बस्न नसकेको बताइएको छ ।

अहिलेसम्म केन्द्रीय कमिटी, सचिवालय, स्थायी कमिटी र प्रदेश कमिटीकोमात्रै टुंगो लागेको छ ।

प्रदेश कमिटीमा हेरफेर गर्ने प्रस्ताव आएपछि बाँकी कामको टुंगो लाग्न नसकेको हो ।

केही सदस्यले प्रदेश कमिटीमा मापदन्ड, विधि एवं पद्धतिद्वारा योग्यलाई जिम्मेवारी नदिएको, केही नेतालाई दोहोरो जिम्मेवारी दिएकोलगायतका विषय राख्दै प्रदेश कमिटी हेरफेर गर्नुपर्ने अडान लिएका छन् ।

प्रदेश कमिटी हेरफेर विषयमा कुनै निर्णय गर्न नसकेको कार्यदलले अन्य तहको कमिटी निर्माणबारे पनि टुंगो लगाउन नसकेको हो ।

भिडियो हेर्नुहोस्