Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


९ जनाको ज्यान गएको डोटी जिप दुर्घटनाका घाइते १४ घन्टापछि अस्पतालमा (४ तस्वीर)


0
Shares

दुर्घटना शुक्रबार राति १० बजे भएको थियो । स्थानीयवासी र प्रहरीको सक्रियतामा उद्धारपछि राति १ बजे घाइतेहरुलाई दिपायलस्थित सुजंग अस्पतालका लागि ल्याउन थालिएको थियो ।

तर, बीचबाटो केआइसिंह गाउँपालिका–१ स्थित ध्याडीखोलामा पहिरो आएपछि रोकिएको थियो । त्यसपछि शनिबार बिहान दिपायलबाट अर्को जिप पठाएर घाइतेहरुलाई मध्याह्न १२ बजेमात्रै अस्पताल पुर्‍याइएको हो ।

घाइतेहरुमध्ये दुईजनाको अवस्था निकै गम्भीर रहेको छ । जसमा डोटी, बोगटान गाउँपालिका–१ सिमचौरका ५० वर्षीय हर्कबहादुर घर्तीमगर र ४९ वर्षीय दलबहादुर पुनमगर रहेको सुजंग अस्पताल दिपायलले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ ।

यस्तै, अर्का गम्भीर भनिएका सोही ठाउँका वीरबहादुर घर्तीमगर र प्रकाशबहादुर घर्तीमगर खतरामुक्त रहेको अस्पतालले जनाएको छ । उनीहरुसहित सामान्य घाइेतहरु नरबहादुर पुनमगर, इन्द्रबहादुर पुनमगर र दीपक घर्तीमगरको सुजंग अस्पतालमै उपचार भइरहेको छ ।

सदरमुकामदेखि टाढा र बाटोको समस्याका कारण उनीहरुलाई समयमै अस्पताल पुर्‍याउन नसकिएको जिल्ला प्रहरी कार्यालय डोटीका नायब प्रहरी उपरीक्षक शिवबहादुर सिंहले बताए ।

दिपायलदेखि चवरा–चौताराका लागि हिँडेको से१ज ४९१ नम्बरको जिप राति करिब १० बजेतिर बोगटान गाउँपालिका–६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

मृतक सबै यात्री बोगटान गाउँपालिका–१ सिमचौर चपरर्तोलाका हुन् । जसमा ३५ वर्षीय विष्णुबहादुर मगर, ५० वर्षीय बूढो घर्तीमगर, ४५ वर्षीय गोरख थापामगर, ४५ वर्षीया ललितादेवी पुनमगर, ४८ वर्षीय शशिरामबहादुर पुनमगर, ४० वर्षीय टेकबहादुर पुनमगर, ३० वर्षीय चन्द्रबहादुर घर्तीमगर र ५५ वर्षीय भीमबहादुर घर्तीमगर रहेका छन् ।

यस्तै, जिपचालक २८ वर्षीय विष्णु नेगीको पनि दुर्घटनामा मृत्यु भएको छ । नेगी शिखर नगरपालिका–१ कपल्लेकी डोटीका स्थायी बासिन्दा हुन् ।

मृतकको स्थलगत मुचुल्का र पोस्टमार्टमका लागि जिल्लाबाट चिकित्सकसहितको प्रहरी टोली घटनास्थल प्रस्थान भएको छ । मृतकहरुको घटनास्थलमै पोस्टमार्टम गरेर आफन्तलाई शव बुझाइने प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

जिप सडकबाट करिब ४०० मिटर तल खसेको छ । जिपमा कुल १६ जना सवार थिए ।

बर्खा, चिप्लो सडक र चालककै लापरबाहीका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी पाइएको प्रहरीले जनाएको छ ।