Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


दूधको गुणस्तर मापदण्ड निर्धारण गरी कडाइपूर्वक लागू गर्न निर्देशन


0
Shares

समितिको आइतबार (आज) बसेको बैठकमा सभापति मोहनप्रसाद बरालले मुलुकभर उत्पादन र वितरण हुने सबै दूधको गुणस्तर मापन गर्न र गुणस्तरीय नभएका अवस्थामा त्यसमा जिम्मेवार तथा दोषी निकाय यकीन गरी कारबाहीको दायरामा ल्याउन सम्बन्धित सरकारी निकायलाई निर्देशन दिए ।

समितिले बजारमा पशुपालन तथा खाद्य वस्तुको अनुगमन सम्बन्धमा बाधक बनेका कानून परिमार्जनका लागि प्रक्रिया अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा पशुपक्षी विकासमन्त्री शन्तकुमार थारुले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने दूध उत्पादन तथा प्रशोधन गर्ने कारखाना स्थलगत अनुगमन गरी सुधारका लागि पहल गरिने बताए ।

मन्त्रालय कम लागतमा दूग्ध उत्पादन बढाउने योजनाको तयारीमा रहेको जानकारी गराउँदै मन्त्री थारुले पशुपालनमा थप अनुदानका कार्यक्रम सन्चालन गरी युवालाई मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न आफू प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।

बैठकमा पशुपंक्षी मन्त्रालयका सचिव युवकध्वज जिसी, दुग्ध विकास संस्थानका प्रबन्ध निर्देशक गंगा तिम्सिना, खाद्य तथा गुणस्तर नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्ण लगायतले आ–आफ्ना निकायका काम कारबाहीका बारेमा जानकारी गराएका थिए ।

बैठकमा सांसद कमलप्रसाद पंगेनी, नवराज शर्मा, चन्द्रबहादुर कुँवर, मानबहादुर थारु, काशीनाथ अधिकारी, अमृतकुमार बोहरा, डिल्लीप्रसाद काफ्ले लगायतले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने दूग्ध र दुग्धजन्य सामग्रीको गुणस्तरीयतामा मापदण्ड निर्धारण गरी कडाइपूर्वक लागू गर्नुपर्नेमा जोड दिएका थिए । रासस