Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


पत्रकार आचार्यले कमजोरी स्वीकार गर्नुपर्ने महासंघको ठहर


0
Shares

पत्रकार आचार्यले चाबहिल भत्केको पुलस्थित मोटर ग्यारेजका सञ्चालकसँग आर्थिक लेनदेनको विषयमा कुरा गरेको गोप्यरुपमा खिचिएको भिडियो लिंकसहित एक अनलाइनमा प्रकाशित समाचारपछि महासंघले महासचिव उजीर मगरको संयोजकत्वमा गठन गरेको छानबिन समितिको प्रतिवेदनको आधारमा सो ठहर गरेको हो ।

“आचार्य निकट व्यक्ति, इमेज च्यानलका प्रमुख र सहकर्मीको भनाइ एवं जानेबुझेसम्म निजको विगत हेर्दा कुनै गैरकानुनी वा गैरव्यावसायिक कार्यमा संलग्न भएको अवस्था नरहेको तर घटना स्वयंमा भने निजको पेशागत कमजोरी देखिन्छ ।”

प्रतिवेदनमा भनिएको छ, “समग्र प्रकरणमा कुनै आर्थिक लेनदेन भएको देखिन्न तर पनि यसले पत्रकारिता क्षेत्रको विश्वसनीयता र पत्रकारको आचरण तथा महासंघको पदीय मर्यादाका सन्दर्भमा सार्वजनिक रूपमा गम्भीर प्रश्न उठेकाले यस प्रकरणमा आचार्यले आफ्नो कमी कमजोरीलाई सार्वजनिक रूपमै स्वीकार गर्न र भावी दिनमा कमी कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्न आवश्यक देखिन्छ ।”

गत असार २८ गते ‘डिसी नेपाल डटकम’ मा प्रकाशित सो समाचारको विषयमा अध्ययन गर्न महासंघ सचिवालयको असार ३० को बैठकबाट गठित समितिले गरेको अध्ययनको प्रतिवेदन महासंघ सचिवालयको यही साउन २२ गतेको बैठकमा प्रस्तुत गरेको थियो ।

बैठकले सो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको सचिव प्रभात चलाउनेबाट आज जारी विज्ञप्तिमा जनाइएको छ । रासस