Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


पोर्चुगलका स्वयंसेवकले बनाइदिए चेपाङ बालबालिकाका लागि भवन


0
Shares

गामबेँसी चेपाङ संरक्षण केन्द्रमा झण्डै रु पाँच लाखको लगानीमा १५ दिनको अन्तरालमै उनीहरुले भवन निर्माण गरी आज हस्तान्तरण गरेका हुन् ।

सोन्हार पोर्चुगलका स्वयंसेवी समूहले यसरी भवन निर्माण गरी हस्तान्तरण गरेको केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिए ।

भवन हस्तान्तरण कार्यक्रममा बोल्दै स्वयंसेवक आना फेरारियाले विपन्न र शिक्षाबाट वञ्चित हुँदै आएका बालबालिकालाई ल्याएर पठनपाठन गर्न लागिएको जानकारी पाएपछि आफूमा सहयोग गर्ने उत्प्रेरणा जागेको बताए ।

पोर्चुगलमा गएर उनले आर्थिक जोहो गरी आफ्नै पहलमा ९ जना स्वयंसेवक ल्याएर काम गरेका थिए । भवन बनेपछि चेपाङ बालबालिकालाई बस्न र कार्यालय सञ्चालनमा समेत सहयोग पुगेको केन्द्रले जनाएको छ ।

चेपाङ बालबालिकाको जीवनस्तर उकास्न र उनीहरुलाई शिक्षा दिलाउन बर्षौदेखि विदेशी दाता र विदेशमा बस्ने नेपालीलाई प्रेरणा दिँदै आएका होटल पार्क साइड सौराहाका सञ्चालक शीरलाल परियारलाई गामबेँसी चेपाङ संरक्षण केन्द्रले आजै सम्मान गर्‍यो ।

आफ्नै श्रम र लगानीमा छोटो समयमै भवन निर्माण गरेर हस्तान्तरण गरी महत्वपूर्ण सहयोग गरेको भन्दै आनालाई समेत यहाँ सम्मान गरिएको थियो ।

यस्तै, चेपाङ बालबालिकालाई सहयोग गरेकामा वृद्धा विष्णुमाया पौडेल र खगेन्द्र चौधरीलाई समेत सम्मान गरिएको थियो ।

चेपाङ बालबालिकालाई सहयोग

यसैबीच, आजै चितवन घर भई इजरायलमा बस्ने निर्मला पौडेलले यहाँ रहेका चेपाङ बालबालिकालाई भोजन सेवासँगै लत्ताकपडा र आर्थिक सहयोग गरिन् ।

उनले आज केन्द्रमै आएर लत्ताकपडासहित रु ३४ हजार सहयोग गरेकी हुन् ।

पौडेलले आगामी दिनमा समेत सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरिन् ।

यहाँ १४० चेपाङ बालबालिका आश्रय लिएर बसेका छन् । रासस