Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


नक्कली चेकमार्फत ४० लाख निकाल्ने बैंकका दुईजना कर्मचारी पक्राउ


0
Shares

पक्राउ पर्नेमा राबा बैंक बर्दिवासका वरिष्ठ सहायकद्वय बर्दिवास नपा– ८ का ४८ वर्षीय जगदिश काफ्ले र काभ्रेपलान्चोक धुलिखेल नपा– ११ का ३५ वर्षीय अम्बिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए ।

पक्राउ परेका दुबै जनाले महोत्तरी साँढा– २ घरभई हाल नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत इन्जिनियर श्रीप्रकाश नारायण सिंहको नाउँमा उक्त बैंकमा रहेका बचत खाता नम्बर ८०३९४ बाट नक्कली चेक प्रयोग गरी रु २० लाख झिकेर हिनामिना गरेका छन् ।

त्यस्तै, नक्कली चेककै प्रयोग गरी सर्लाही लालबन्दीस्थित राबा बैंकबाट रु पाँच लाख तथा सिरहा मिर्चैयास्थित राबा बैंकबाट पनि रु १५ लाख निकालिएको आरोपमा दुबै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।

उनीहरुले बदनियतपूर्वक आफ्नो खाताबाट रकम झिकेको भन्दै इन्जिनियर सिंहले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दिएपछि प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनाले आफूसहित यस कार्यमा अन्य पाँचजना कर्मचारी पनि संलग्न रहेको बयान दिएका छन् ।

उनीहरु माथि बैंकिङ कसुर मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएको तथा थप दोषी कर्मचारीलाई पनि पक्राउ गर्न आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । रासस